७ वैशाख २०८१ शुक्रबार
राजनीति

छलफलबाटै सीमा विवाद मिलाउने सहमति

नेपाल–भारत संवादहीनताको पर्दा खुल्दै

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका क्रममा भारतीय विदेशसचिव हर्षवर्द्धन श्रींगला प्रधानमन्त्री निवास बालुवाटारमा । तस्बिर: नागिरक

नेपाल–भारत सीमा विवादका कारण करिब एक वर्षयता देखिएको संवादहीनताको अवस्था पछिल्लो समय बिस्तारै हट्दै गएको छ। नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला र नेपाली समकक्षी भरतराज पौड्यालबीच बिहीबार सम्पन्न बैठकमा आपसी सहकार्यलाई अगाडि बढाउन थप कदम चाल्ने सहमति भएको छ। बैठकमा भारतीय टोलीको नेतृत्व सचिव श्रींगला र नेपाली पक्षको नेतृत्व सचिव पौड्यालले गरेका थिए।

‘हामीबीच निकै फलदायी बैठक भएको छ,’ भारतीय विदेश सचिव श्रींगलाले सञ्चारकर्मीसँग भने, ‘दुई पक्षीय सहकार्यका कैयौं विषयमा छलफल भएको छ।’

बैठकमा द्विपक्षीय सहयोगको समीक्षा र आपसी हितका मुद्दामा छलफल भयो। त्यस्तै दुवै देशबीच उत्पन्न सीमा विवादका विषयमा पनि छलफल भयो। सीमा विवाद आपसी छलफलबाटै समाधान गर्ने सहमति बनेको बैठक स्रोतले बतायो। बैठक र भेटमा दुवै समकक्षीले द्विपक्षीय परियोजनाहरूको प्रगतिको सराहनासमेत गरे। नेपाल–भारतबीच सीमा विवादलाई लिएर तिक्तता सुरु भएको करिब एक वर्षपछि दुई देशका बीचमा विदेश सचिवस्तरीय बैठक भएको हो।

सीमा विवाद समाधानका लागि नेपालले पटकपटक विदेश सचिवस्तरीय बैठकका लागि आग्रह गरे पनि भारतले बेवास्ता गर्दै आएको थियो। भारतले कोरोना महामारीको कारण देखाउँदै नेपालले प्रस्ताव गरेको मितिमा छलफलका लागि अनिच्छा देखाउँदै आएको थियो। तर पछिल्लो पटक करिब एक महिनाको अवधिमा भारतबाट एकपछि अर्काे गर्दैै महŒवपूर्ण भ्रमण भइरहेका छन्। यसअघि कात्तिकमा भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामान्तकुमार गोयल र सेना प्रमुख मनोज मुकुन्द नरवाणेले नेपाल भ्रमण गरेका थिए।

श्रींगलाले बिहीबार नै शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी र बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरे। उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनकै कार्यकक्ष सिंहदरबारमा पुगेर शिष्टाचार भेट गरे। सो अवसरमा उनले मन्त्री ज्ञवालीलाई कोभिड–१९ विरुद्ध लड्न भारत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरे। त्यसक्रममा उनले भारतले ठूलो परिमाणमा कोभिड–१९ भ्याक्सिन उत्पादन गर्न लागेको जानकारी गराउँदै खोप पाउन नेपाललगायत निकटस्थ मित्रहरू भारतको प्राथमिकतामा पर्ने बताएका छन्।

‘हामीबीच निकै फलदायी बैठक भएको छ,’ भारतीय विदेश सचिव हर्षवद्र्धन श्रींगलाले सञ्चारकर्मीसँग भने, ‘दुई पक्षीय सहकार्यका कैयौं विषयमा छलफल भएको छ।’

श्रींगला भूकम्पपछि भारतीय सहयोगमा पुनर्निर्माण भइरहेका घरहरूको अवलोकन तथा पुनर्निर्माण सम्पन्न भएका विद्यालयको उद्घाटनका लागि शुक्रबार गोरखा जाने कार्यक्रम छ। त्यस्तै उनी भारतीय सहयोगमा निर्माण भएको गुम्बाको उद्घाटनका लागि मनाङ जाने कार्यक्रम पनि तय भएको छ। शुक्रबार नै उनले नेपाल–भारत मैत्री सम्बन्धका विषयमा आयोजना हुने कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्ने कार्यक्रमसमेत छ। दुईदिने भ्रमण सकेर उनी शुक्रबार स्वदेश फर्किनेछन्।

‘अत्यन्तै खुसी लागेको छ’
भारतीय विदेश सचिव श्रींगलाले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै नेपाल आउँदाको खुसी नेपाली भाषामै व्यक्त गरे। नेपाली मूलकी आमाबाट जन्मिएका उनको मातृभाषा नेपाली हो। गत वर्ष सिक्किमको आइसिएफएआई विश्वविद्यालयले मानार्थ पिएचडीबाट सम्मान गर्दा उनले आफ्नो मातृभाषा नेपाली भएको बताउँदै केही शब्द नेपालीमै बोलेर आफूलाई गरिएको सम्मानप्रति धन्यवाद व्यक्त गरेका थिए।

‘नेपालमा आएर मलाई अत्यन्त खुसी र रमाइलो लागेको छ। म पहिले पनि काठमाडौं आएको थिएँ। विदेश सचिवका रूपमा पहिलोपटक आएको छु,’ उनले नेपाली लवजमा भने। भारत र नेपाल निकट मित्र भएकाले आफ्नो भ्रमणका बेला यो निकटता कसरी अघि बढाउने भन्नेबारे छलफल हुने उनको भनाइ थियो।

प्रकाशित: १२ मंसिर २०७७ ०१:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App