नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले भ्रष्टाचार मुद्दा लागेका पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बोकेर अगाडि बढ्न नसक्ने भन्दै फायर खोलेकी छन्। शनिवार पार्टीनिकट युवा संघले लुम्बिनीमा गरेको कार्यक्रममा झाँक्रीले बोलेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ।
‘पार्टी बनाउने नै हो भने यस्तै सङ्कटहरूबाट हामी उठ्नुपर्छ, पार्टीमा अर्को ठुलो संकट छ। तपाईँहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ, अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने ?,’ झाँक्रीले प्रश्न गरिन्, ‘अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौँ, कसरी गर्ने ? अर्ली(चाँडो) महाधिवेशन गरौँ।’
अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर नयाँ अध्यक्ष बनाउनुपर्ने उनले बताएकी छन्। ‘कहाँ हुन्छ यसरी ? म त भन्छु, अब अर्ली महाधिवेशन गरौँ। कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो,’ उनले भनिन्।
त्यसपछि उनले मरेको सिनो काँधमा हालेर बोक्न नसकिनेसम्म भन्न भ्याएकी छन्। उनले भनिन्, ‘अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ, अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।’
अर्ली महाधिवेशनको हलबाट जोकोही नेतृत्वमा आउन सक्ने उनले बताएकी छन्। ‘होइन भने– मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईँहरूले यो पार्टी बनाउनुहुन्न,’ झाँक्रीले भनेकी छन्।
अध्यक्ष नेपालमाथि यसरी आक्रोश पोखेकी झाँक्री कुनै समय एमालेबाट बाहिर निस्किएर नयाँ पार्टी गठन गर्दा हात थाम्ने साहस देखाएकी थिइन्।
एमालेबाट छुट्टिँदै गर्दा अध्यक्ष नेपालसँग रहेका प्रभावशाली नेताहरूले ‘१० बुँदे’का नाममा एमालेमै रहेपछि झाँक्री अग्रसर भएकी थिइन्। पार्टी विभाजनपछि नयाँ पार्टी गठनका लागि निर्वाचन आयोग जाँदै गर्दा झाँक्रीले नेपालको हात तानेर लगेको दृश्य अहिलेसम्म पनि चर्चा रहिरहन्छ।
पछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहरी विकास मन्त्री रहेकी झाँक्रीले पार्टीले आफूसँग पर्याप्त छलफल नै नगरी मन्त्रीबाट फिर्ता बोलाएकामा चित्त दुखाएकी थिइन। मन्त्रालयबाट बाहिरिँदा उनी पत्रकार सम्मेलनमा धरधरी रोएकी थिइन। त्यसपछि अध्यक्ष नेपालसँग बिग्रिएको सम्बन्ध उनको सुध्रिएन। झन्झन् बिग्रिँदै गयो।
गत वर्ष भएको नेकपा एसको महाधिवेशनमा झाँक्री महिला उपाध्यक्षमा प्रतिस्पर्धा गरेकी थिइन। तर अध्यक्ष नेपालले आफूलाई चिट बाँडेरै हराएको आरोप खुल्लमखुल्ला लगाउँदै आएकी छन्। उनी लगायतका नेताहरू त्यो महाधिवेशनमाथि नै प्रश्न उठाइरहेका छन्।
अहिले पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा एसभित्रै अध्यक्ष नेपालले पद छाड्नुपर्ने पहिलो आवाज उनै झाँक्रीले उठाएकी छन्। यसअघि नेकपा एसको सचिवालय बैठकले भने नेपालमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर भएको भन्दै अध्यक्ष पद छाड्न नहुने निष्कर्ष निकाले थियो।
प्रकाशित: १५ असार २०८२ १३:१६ आइतबार





