नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव नेपाललाई पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लगाएर षडयन्त्र गरेको जनाएको छ ।
शुक्रबार बसेको नेकपा एसको सचिवालय बैठकले समकालीन नेताहरु भन्दा सादगी जीवन बिताइरहेका माधव कुमार नेपाललाई भ्रष्टाचारको मुद्दा लगाएर षडयन्त्र गरी फसाउन खोजेको जनाएको हो ।
‘अध्यक्ष नेपालमाथिको मुद्दा पार्टी स्थापनाकालदेखि नै सुरू भएको षड्यन्त्रको निरन्तरताको रुपमा लिएका छौ’, पार्टी प्रवक्ता प्रकाश ज्वालाले भने । बैठकपछि निर्णयहरु सुनाउँदै पार्टीलाई कमजोर बनाउने एउटा कडीको रुपमा लिएको समेत बताए ।
‘पार्टीविरुद्धको षड्यन्त्रको अर्को श्रृंखलाको रूपमा अध्यक्षमाथि झूटो मुद्दा लगाइएको छ । यो पार्टी र आन्दोलनमाथिको प्रहार हो । षड्यन्त्रमूलक र योजनाबद्ध ढंगले पार्टीलाई कमजोर बनाउनको लागि मुद्दा लगाइएको हो’, प्रवक्ता ज्वालाले भने ।
राजनीतिक प्रतिशोधका साथ लगाइएको मुद्दा भएकाले सफाइ पाउने विश्वास उनले गरे । उनले प्रतिशोधपूर्ण रूपमा लगाइएको मुद्दा भएकाले नेपालले अध्यक्षको रूपमा काम गरिराख्ने र संसदीय दलको नेताबारे दलकै बैठकमा छलफल हुने बताए ।
पार्टीको सचिवालय बैठकलाई अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनाल महासचिव घनश्याम भुसालले सम्बोधन गरेका थिए । बैठकले वर्तमान सरकारको रवैया र बजेटबारे पनि छलफल भएको नेताहरुले बताएका छन् ।
प्रकाशित: १३ असार २०८२ १८:३२ शुक्रबार





