२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

केपीलक्षित माधवको टिप्पणी: हामीदेखि आतंकित मान्छेले भ्रष्टाचार मुद्दाको पहल गरे

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। शनिवार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। 

‘हाम्रो पार्टीको भूमिकालाई लिएर कतिपय व्यक्तिहरू आत्तिएका पनि छन्। आतंकित भएका छन्,’ अध्यक्ष नेपालले भने,‘पूर्वाग्रह लिएर बसेका छन्, बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ।’

त्यसैको उदाहरणका रूपमा आफूमाथि भ्रष्टाचार मुद्दा लगाइएको उनले बताए।  उनले भने, ‘त्यसैको एउटा उदाहरण भर्खरै तपाईँहरूले सुन्नुभयो म माथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भएको छ।’

भ्रष्टाचारको मुद्दामा निर्णयको आधार चाहिने र यो मुद्दामा आधार नभएको पनि अध्यक्ष नेपालले बताए। ‘माधव नेपालले कसैसँग एक नयाँ पैसा घुस लिएको भए, एक दाम जग्गा घुस लिएको भए, अनुचित काम गरेको भए, देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु,’ उनले भने। 

यो चुनौती आइलागेको बताउँदै अध्यक्ष नेपालले त्यसको सामना गर्ने बताए। ‘कोइकोइ मान्छेहरू चुनौती देखेर आत्तिन्छन्, भाग्छन् मैदान छोडेर।हामीले मैदान छोडेर भाग्ने होइन। दृढताका साथ चुनौतीको सामना गर्ने हो’, उनले भने। 

आफू भ्रष्टाचारजन्य काममा संलग्न नभएको बताउँदै उनले कार्यकर्तालाई ढुक्क रहन आग्रह गरे । उनले भने, ‘ढुक्क हुनुस् म बाट कुनै भ्रष्टाचारजन्य काम भएको छैन। नेपाली जनताले न्याय गर्नेछन्। अदालतले न्याय गर्नेछ। मलाई विश्वास छ।’

प्रकाशित: २४ जेष्ठ २०८२ १४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App