प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको खोजी गरेका छन्। सोमबार (आज) प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस मूल समारोह समिति गठन गर्नका लागि सम्बन्धित सबैलाई बैठकमा आह्वान गरेका थिए।
तर, काठमाडौं महानगरपालिकाबाट मेयर बालेन नभई उपमेयर सुनिता डंगोल उपस्थित भइन्। छलफल हुने क्रममा प्रधानमन्त्री ओलीले बालेनको खोजी गरे। बालेनको नाम नलिई प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण कार्यक्रमहरूमा काठमाडौं महानगरपालिकाको जनप्रतिनिधि सहभागी नहुनु राम्रो नभएको बताए।
'कहिल्यै नआउने, नामचाहिँ राखिरहनुपर्ने। केही केही मान्छेहरूका सधैँ नाम राख्छौँ हामीले, अब यो चलन छोड्नुपर्छ कि के हो। कहिल्यै पनि नआउने, नामचाहिँ सधैँ टाँस्नुपर्ने पद ओहोदाको कारणले। अब अर्थ छैन, महत्त्व नै छैन भने किन सधैँ झुन्ड्याइराख्ने। कि तपाईंहरू सोध्नुस् आउने हो कि होइन, खुसी छ कि छैन,' प्रधानमन्त्री ओलीले भने।
बैठकले प्रधानमन्त्री ओलीकै संयोजकत्वमा दिवस मूल समारोह समिति गठन गरेको छ। समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, काठमाडौं महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृत, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरू, सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन्।
बैठकले आगामी जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्वलनसहित त्रिदिवसीय रूपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ-संस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू गठन गरेको छ।
विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तय गरिने छ। जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ।
प्रकाशित: ५ जेष्ठ २०८२ १५:५० सोमबार





