सांसद डा. अमरेशकुमार सिंहले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यमध्ये एक जनालाई कारबाही गर्न माग गरेका छन्।
उनले न्यायिक छानबिन आयोग गठन गरेर छानबिन गर्न र जो दोषी देखिन्छन्, उनलाई कारबाही गर्न माग गरेका छन्। सोमबार (आज) बसेको संसद् बैठकमा भाग लिँदै सिंहले भने, 'दुबै सत्य हुन सक्दैनन्। दुईमध्ये एक त पक्कै दोषी छन्।'
उनले थप भने, 'न्यायिक समिति गठन गरेर; पहिलेको कुलमानले भनिरहेको छ कि नाफा छ, त्यो दोषी हो कि ? अहिलेको हितेन्द्र भनिरहेको छ कि पाँच अर्ब एक महिनामै घाटा छ। कुनै कर्मचारीको छानबिन होइन, न्यायिक छानबिनबाट दुईटैलाई समातौँ, जो दोषी छ, उसलाई कारबाही गरौँ।'
उनले एक जनालाई कारबाही हुनैपर्ने बताए। उनीहरूले जनतालाई फरक-फरक सूचना दिएको र दुई वटामध्ये एउटा सत्य र अर्को दोषी भएको उल्लेख गर्दै त्यो पत्ता लगाउनका लागि आयोग बनाउनुपर्ने बताए।
'एउटा भनिरहेको छ कि नेपाली जनतालाई नाफाको नाफामै छ, अर्को भन्छ कि आएको एक महिना भएको छैन, घाटाको घाटामै छ। दुईटैमध्ये एउटा त गलत होला नि, दुईटै सत्य हुन सक्दैन। को सत्य हो, को दोषी हो उसलाई न्यायिक छानबिन गरेर; म यसका लागि मन्त्रीज्यूलाई अनुरोध गर्दछु। न्यायिक छानिबन आयोग गठन गरौँ, नाफा भन्ने दोषी हो कि घाटा भन्ने दोषी हो त्यसलाई कारबाही होस्। दुईटै दोषी हुन सक्दैन। एउटा दोषी हुनैपर्छ, एउटालाई कारबाही हुनैपर्छ,' उनले भने।
निवर्तमान कार्यकारी निर्देशक कुलमान २०८१ चैत ११ गते पदबाट हटे। त्यसबेला उनले प्राधिकरण आठ अर्बभन्दा बढी नाफामा रहेको बताएका थिए। तर, त्यसपछि आएका हितेन्द्रदेवले भने एक महिनाभित्रै उल्टो थप पाँच अर्ब घाटामा रहेको श्वेतपत्र जारी गरे।
यसपछि कुलमान र हितेन्द्रदेवबीच बाझिएको आँकडाबारे विभिन्न बहस र तर्क-वितर्कसमेत भए। यहीबीचमा सांसद सिंहले न्यायिक छानबिन आयोगको माग गरेका हुन्।
प्रकाशित: ५ जेष्ठ २०८२ १५:२९ सोमबार





