गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार नागरिकमैत्री भएकाले नागरिकका समस्या समाधानका लागि सधैँ सहकार्य र समन्वय गर्ने बताएका छन् ।
अखिल नेपाल कबडी सङ्घले आयोजना गरेको २१औँ महिला तथा २५औँ पुरुष राष्ट्रिय कबडी प्रतियोगितामा उनले मुलुकमा सुशासन कायम गराउँदै शान्ति सुरक्षा, सामाजिक न्यायसहित नागरिकको जीवनस्तर उकास्ने कार्य सरकारको प्रमुख प्राथमिकतामा रहेकाले सोही अनुसार काम भइरहेको बताए।
अन्तरराष्ट्रिय तहका खेलकुद प्रतियोगिताबाट पदक भित्र्याउन सक्ने सम्भावित खेल कबडी नेपालमा अग्रपङ्क्तिमा रहेको बताउँदै मन्त्री अर्यालले सरकारले यो खेललाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाए । स्वदेशमा खेलेर जीवनयापन गर्न सक्ने वातावरण निर्माणका लागि खेललाई व्यावसायिक बनाउनुपर्नेमा उनले जोड दिए ।
प्रकाशित: १६ माघ २०८२ २१:५१ शुक्रबार





