उदयपुरको चौदण्डीगढी नगरपालिका ४ स्थित बसाहामा जारी ‘नारदमुनि स्मृति गोल्डकप फुटबल प्रतियोगिता ०८२’को दोस्रो दिनको खेल सकहलेश युवा क्लब सिराहाले जितेको छ । बसाहा बर्खेडाँडास्थित नारद आदर्श रङ्गशालामा बिहीबारदेखि सुरु प्रतियोगिताको शुक्रबारको खेलमा दमक फुटबल एकेडेमी झापालाई १ का विरुद्ध ४ गोलले गर्दै सहलेशसेमिफाईनलमा प्रवेश गरेको हो ।
खेलको सुरु पहिलो मिनटमै सहलेशका खेलाडी बिकी चामलिङ राईले पहिलो गोल गर्दै टिमलाई अघि बढाएका थिए । खेलको १८ औँ मिनटमा अर्का विदेशी खेलाडी पेपेको प्रहारले जाली चुम्दै गोल संख्या दुई भयो । मध्यान्तरअघि २३ औँ मिनटमा दमकका खेलाडी किस्मत लिम्बुले एक गोल गरेर टिमलाई सहानुभूति दिलाए पनि मध्यान्तरपछि लगातार सहलेशले दुई गोल गर्न सफल भयो ।
मध्यान्तरपछिको खेलमा ५०औँ मिनटमा सुनिल खड्काको प्रहारले तीन गोल बनाउनन पुगेको सहलेशले अर्का खेलाडी राजेश दाहालले ५७औँ मिनटमा चौथो गोल थपे । त्यसपछिको सबै प्रयास विफल भएसँगै झापा मैदान छाड्न बाध्य भएको हो ।
खेलको म्यान अफ द म्याचको उपाधि सहलेसका असिम राई घोषित भए । उनलाई आयोजकको तर्फबाट ट्रफी र प्रमाणपत्र प्रदान गरेको छ । शनिबारको खेलमा न्यू त्रियुगा स्पोट्र्स क्लब सप्तरी र नेपाल खेलकुद क्लब रौतहटबीच प्रतिस्पर्धा हुने आयोजक बसाहा क्लबका अध्यक्ष दिनेश राईले बताए ।
बिहीबार सुरु भएको उद्घाटन खेल सुनसरीको योङ ब्रदर क्लब ईटहरीले जितेको छ । इटहरीले आयोजक बसाहा क्लबविरुद्ध खेल सुरु भएको २७ औँ मिनटमा गरेको एक गोलको सहज अन्तरले पराजित गरेको हो । योङ ब्रदरका लागि विदेशी खेलाडी फोफोनाले गरेको गोल नै निर्णायक बन्न पुगेको हो ।
प्रजातान्त्रिक योद्धा स्वर्गीय नारदमणि थुलुङ राईको स्मृतिमा बसाह क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन चौदण्डीगढी नगरप्रमुख कालुमान लामा, बेलका नगरप्रमुख अशोक कार्की र कटारी नगरप्रमुख राजेन्द्रचन्द्र श्रेष्ठले संयुक्त रूपमा गरेका थिए । क्प्रलबले प्रत्येक वर्ष आयोजना गर्दै आएको गोल्डक प्रतियोगिता यो ११ औं संस्करण भएको क्लबका अध्यक्ष राईले बताएका छन् ।
प्रकाशित: १६ माघ २०८२ २१:१५ शुक्रबार





