आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं ६ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारका बीचमा नै मुख्य प्रतिश्पर्धा हुने देखिएको छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं ६ मा विजयी नेपाली कांग्रेसका नेता डा शेखर कोइराला यस पटक पनि उम्मेदवार छन् ।
यस्तै नेकपा एमालेले नेता विनोद ढकाल प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाएको छ । नेता ढकाल २०७९ को निर्वाचनमा मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिश्पर्धा गरेका थिए । त्यो निर्वाचनमा ढकालले हार व्यहोरेका थिए । यसभन्दा पहिले २०७४ को निर्वाचनमा विराटनगर महानगर पालिकाको मेयरको उम्मेदवार बनेका ढकालले त्यो निर्वाचनमा पनि हार व्यहोरेका थिए । त्यो निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयरका नेपाली कांग्रेसका भीम पराजुली विजयी भएका थिए ।
पार्टी भित्र इतर पक्षबाट मोरङमा बलियो अवस्थामा रहेका ढकाल यस पटक नेपाली कांग्रेसका नेता डा शेखर कोइरालासँग प्रतिनिधिसभा निर्वाचनमा प्रतिश्पर्धा गरिरहेका छन् । नेता ढकाल यस पटक आफ्नो लगातारको हारको श्रृङ्खला रोकिनेमा विश्वस्त देखिन्छन् ।
मोरङ क्षेत्र नं ६ बाट आफू नै विजयी बन्ने सुनिश्चित रहेको ढकालको दाबी छ । एमाले मोरङमा आफ्नो पक्षको बलियो उपस्थिति रहेकाले पार्टी र कार्यकर्ताबाट प्रयाप्त सहयोग मिल्ने ढकाल पक्षका नेताहरू बताउँछन् । जिल्लामा पार्टीबाट प्रयाप्त सहयोग पाउने बलियो आधार, मुख्य प्रतिश्पर्धी कांग्रेसको विवादका कारण एउटा पक्षले एमालेका उम्मेदवारलाई सहयोग गर्ने सम्भावना र जनतामा देखिएको विश्वासले एमालेका उम्मेदवारलाई मोरङ ६ मा विजयी गराउने विश्लेषण एमाले नेताहरूको छ ।
यता नेपाली कांग्रेसका नेता डा शेखर कोइराला यसपटक पनि प्रतिनिधिसभा निर्वाचनमा विजयी बन्ने कांग्रेसका नेताहरूको दाबी छ ।
विशेष महाअधिवेशनका क्रममा देखिएको कांग्रेसको विवाद समाधान भएको पार्टीले कसैसँग पनि गठबन्धन नगरेको र २०७४ को निर्वाचनमा एमाले र तत्कालिन माओवादीबीचको तालमेलका कारण झिनो मतान्तरले हार्नु परे पनि अहिले कुनै पनि पार्टीहरूबीच एकीकरण नभएका कारण कांग्रेसका उम्मेदवार डा शेखर कोइरालाले यस पटकको निर्वाचन जित्ने कांग्रेस नेताहरूको विश्लेषण छ ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं ६ बाट एमाले–माओवादी गठबन्धनका उम्मेदवार नेकपा एमालेका लालबाबु पण्डित विजयी भएका थिए । एमालेका उम्मेदवार लालबाबु पण्डितले ३३ हजार ९४१ मत ल्याएर विजयी भएका थिए । यस्तै नेपाली कांग्रेसका उम्मेदवार डा शेखर कोइरालाले ३३ हजार २६६ मत ल्याएका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा त्यो क्षेत्रबाट कांग्रेस– माओवादी गठबनधनका उम्मेदवार कांग्रेसका डा शेखर कोइरालाले ३५ हजार २४४ मत ल्याएर विजयी भएका थिए । २०७९ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डित पराजित भएका थिए । यस अघिको निार्वचनका आधारमा हेर्दा कांग्रेस र एमालेका उम्मेदवार तत्कालिन माओवादीसंग गठबन्धन गरेर निर्वाचनमा विजयी भए पनि उक्त क्षेत्रमा नेपाली कांग्रेसको एकल मत एमालेको भन्दा धेरै रहेको देखिन्छ । यसपटकको निर्वाचनमा विगतको जस्तो विश्लेषण गर्न नहुने रास्वपाका नेताहरू बताउँछन् । यो निर्वाचन परिवर्तनका लागि हुन लागेको र जनताले मद बदल्ने सोच बनाएको देखिएका कारण पुरानै पार्टीहरूले जित्लान् भन्ने स्थिति नरहेको उनीहरूको भनाई छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं ६ मा रास्वपाबाट रुविना आचार्य उम्मेदवार छिन् । यो निर्वाचनमा रास्वपाको क्रेज देशैभर रहेका कारण रास्वपाले चुनाव जित्ने रास्वपाका नेताहरू दाबी गर्दै आएका छन् । २०७९ को निर्वाचनमा पनि रास्वपाका उम्मेदवारले मोरङ ६ मा ११ हजार बढी मत ल्याएका कारण यो पटक पार्टीमा देखिएको जनलहरले पुराना नेताहरूलाई पछि पार्दै रास्वपाले निर्वाचन जित्ने दाबी रास्वपाका स्थानिय नेताहरूको छ । मोरङ क्षेत्र नं ६ मा नेपाली कम्युनिष्ट पार्टीले ओपेन्द्र रायलाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ । मोरङ –६ मा विगतका निर्वाचनको मतलाई हेर्दा नेपाली कम्युनिष्ट पार्टीले चुनौती दिनसक्ने अवस्था नभए पनि धेरै वटा पार्टी मिलेर नयाँ पार्टी बनेको र नयाँ पार्टीका उम्मेदवारलाई मत हाल्ने देशैभर लहर चलेका कारण नेकपाका उम्मेदवारले मोरङ ६ मा जित निकाल्ने नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेताहरूको दाबी छ ।
मोरङ क्षेत्र नं ६ मा मुख्य दल, अन्य साना दल र स्वतन्त्रका गरी २० जनाले उम्मेदवारी दिएका छन् ।
प्रकाशित: १६ माघ २०८२ २१:०२ शुक्रबार





