राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार साँझ पोखरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा त्यहाँ उपस्थित समर्थकलाई मोबाइलको ‘फ्ल्यास लाइट’ बाल्न अनुरोध गरे।
रविको अनुरोधमा हजारौंले ‘फ्ल्यास’ बालेर समर्थन जनाएका थिए। हजारौं मोबाइलको ‘फ्ल्यास’ एकैसाथ बलेपछि रविले भने- ‘तपाईंहरूको हातमा बलेको यो बत्ती केवल प्रकाश मात्र होइन, यो ३४ वर्षदेखिको अँध्यारो र लुटतन्त्र चिर्ने सुशासनको नयाँ युगको सङ्कल्प हो।’
लामिछानेले विगत तीन दशकदेखि सत्तामा रहेका दलहरूले मुलुकमा कुशासनको अँध्यारो फैलाएको आरोप लगाए।
उद्योग कलकारखाना बन्द गराएर युवाहरूलाई विदेश पलायन हुन बाध्य पारिएको भन्दै उनले अब त्यो स्थितिको अन्त्य गर्न फागुन २१ गतेको निर्वाचन निर्णायक हुने जिकिर गरे।
‘जसरी यो हजारौं मोबाइलको बत्तीले यहाँको रातको अँध्यारोलाई चिरेको छ, ठिक त्यसैगरी तपाईंहरूको अमूल्य मतले देशमा व्याप्त राजनीतिक बेथिति र भ्रष्टाचारको अँध्यारोलाई चिर्नेछ,’ उनले भने।
प्रकाशित: २८ माघ २०८२ १८:५४ बुधबार





