२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

घण्टौं कुरेका समर्थक नै बेखबर: बालेन कतिखेर आए, कतिखेर गए पत्तै भएन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहको भाषण सुन्न र एक झलक हेर्न बाराको कलैयामा बिहानैदेखि ठूलो जमात प्रतिक्षारत थियो।

तर, घण्टौंको पर्खाइपछि पनि समर्थकहरूले पत्तै नपाई बालेन गाडीबाटै वीरगन्जतर्फ लाग्दा समर्थकहरू निराश बनेका छन्।

बालेन रौतहटबाट हुलाकी राजमार्ग हुँदै कलैया आउने खबर पाएपछि बिहान ११ बजेदेखि नै सर्वसाधारण, पार्टी नेता तथा कार्यकर्ताहरू कलैयाको भरतचोकमा जम्मा हुन थालेका थिए।

चर्को घाममा घण्टौं कुरेर बसेका उनीहरू बालेनले चोकमा रोकिएर सम्बोधन गर्ने वा कम्तीमा गाडीबाट ओर्लिएर अभिवादन गर्ने अपेक्षामा थिए।

तर, अपराह्न २ः४० बजेतिर बालेनको सवारी लस्कर आइपुग्यो। बालेनले गुडिरहेको गाडीबाटै घण्टी बजाउँदै हात हल्लाए। उनी चढेको गाडी नरोकी हुइँकियो। सडक छेउमा उभिएका धेरैजसो समर्थकले बालेनलाई देख्नै पाएनन्।

‘बिहानदेखि कुरेर बसियो, तर उहाँ त कतिबेला आउनुभयो र कतिबेला जानुभयो थाहा नै पाइएन,’ भिडमा रहेका एक समर्थकले गुनासो गरे।

अन्य राजनीतिक दलका नेताहरू जस्तै बालेनले पनि गाडीबाट ओर्लिएर जनसागरलाई सम्बोधन गर्छन् भन्ने आशा बोकेका स्थानीयहरू खिन्न हुँदै घर फर्कन बाध्य भए।

रौतहटबाट आएका बालेन कलैयाको भिडलाई छिचोल्दै सिधै वीरगन्जतर्फ लागेका छन्।

प्रकाशित: २८ माघ २०८२ १९:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App