७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अपराध

अख्तियार प्रमुखलाई ‘ज्यान मार्ने धम्की’ दिने व्यक्ति पक्राउ, लगाइयो ६ वटा मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विशिष्ट व्यक्तिहरूलाई इमेलमार्फत ज्यान मार्ने धम्की दिने एक व्यक्तिलाई प्रहरीले फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याएको छ।

आफूलाई एक्स्ट्रिमिस्ट ग्रुप वा नेपाल इजिएनको अध्यक्ष बताउने ३४ वर्षीय प्रकाश पाठकलाई इन्टरपोलको सहयोगमा पक्राउ गरी बुधबार काठमाडौं ल्याइएको हो।

काभ्रेपलान्चोकको तेमाल गाउँपालिका-१ घर भई हाल फिलिपिन्स बस्दै आएका पाठकमाथि प्रहरीले ६ वटा फरक-फरक कसुरमा मुद्दा चलाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार, पाठकलाई आजै काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो।

अदालतले अनुसन्धानका लागि प्रहरीलाई तीन दिनको म्याद दिएको छ।

प्रहरीका अनुसार पाठकविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर, ठगी, आपराधिक लाभ (एक्सटर्सन) र आपराधिक षड्यन्त्र लगायतका गरी कुल ६ वटा मुद्दा दर्ता गरिएको छ।

पाठकले सन् २०२५ अक्टोबर २२ मा फिलिपिन्सबाटै इमेल पठाएर अख्तियारका प्रमुख आयुक्तसहित १० जना उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्नेसम्मको धम्की दिएको आरोप छ। सोही घटनापछि नेपाल प्रहरीले उनलाई खोजीको सूचीमा राखेको थियो।

अन्ततः प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले फिलिपिन्सको इन्टरपोलसँग समन्वय गरी उनलाई पक्राउ गर्न सफल भएको हो। अहिले उनीमाथि प्रहरी वृत्त दरबारमार्ग र परिसरको टोलीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २८ माघ २०८२ १९:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App