नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सिंगै हात्ती खानेसँग कमिला पनि खानुहुन्न भन्नेको तुलना गरेर बदनाम गरिएको टिप्पणी गरेका छन्। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै मंगलबारको बैठकमा उपसभापति गुरुङ यस्तो बताएका हुन्।
‘नीति तथा कार्यक्रममा सुशासन, भ्रष्टाचार नियन्त्रण गर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्ने कुरा आएको छ, यसको म स्वागत गर्न चाहन्छु,’ उपसभापति गुरुङले भने, ‘हामी कुरा होइन काम गरौँ हामी काम। काम गर्ने हो भने २०४६ साल यताका लाभको पदमा पुगेका सबै नेता र कर्मचारीको छानबिन गर्न उच्च स्तरीय शक्तिशाली आयोग गठन गरौँ।’
आफूले यो प्रस्ताव संसद् सचिवालयमा दर्ता गरेको एक वर्ष भइसकेको उनले स्मरण गराए। ‘छानबिन समिति गठन गर्ने, अनि जसको सम्पत्तिको स्रोत खुल्दैन राज्यले जफत गर्ने। यस्तो आँट गर्नुपर्छ। यो व्यवस्था गणतन्त्रलाई सुदृढ गर्ने बाटो हो यो,’ गुरुङले भने।
यो बाटोमा जानुको सट्टा कमिला पनि खानुहुन्न भन्नेको बदनाम हुन थालेको पनि उपसभापति गुरुङले टिप्पणी गरे। उनले भने, ‘यहाँ त यो बाटो नगएर कमिला पनि खान हुन्न भन्नेलाई सिंगै हात्ती खानेसँग दाँजेर बदनाम गरिन्छ यो मुलुकमा।’
प्रकाशित: २३ वैशाख २०८२ १२:३६ मंगलबार





