संसद्को बर्ख अधिवेशन शुक्रबार(आज)बाट सुरु हुँदैछ। बर्खे अधिवेशनको सुरुको दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने तय थियो। तर, अन्तिम समयमा प्रधानमन्त्रीले ओलीले आफ्नो सम्बोधनलाई अर्को दिन गर्ने गरी स्थगित गरेका छन्। प्रधानमन्त्रीको सम्बोधन आजलाई स्थगित भएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
‘आज प्रमुख प्रतिपक्षी दलका नेता (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको पहिल्यै बाहिर कार्यक्रम सेड्युल भइसकेको रहेछ,’ उनले भने,‘त्यसकारण प्रधानमन्त्री ज्यु आज संसद्मा सम्बोधन गर्नुहुन्न।’ माओवादी केन्द्र स्रोतका अनुसार दाहाल शुक्रबार २०७२ को महाभूकम्पको केन्द्र गोरखाको वारपाक पुगेका छन्। उक्त क्षेत्र दाहालको निर्वाचन क्षेत्र पनि हो।
संसदमा प्रधानमन्त्री वा प्रमुख प्रतिपक्षी दलको नेता सम्बोधन गर्दा शीर्ष नेताहरु उपस्थित रहनुपर्ने संसदीय प्रचलन छ। आज दाहाल मात्र नभई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि उपस्थित हुने छैनन्। देउवा उपचारका लागि थाइल्यान्डको बैंकक गएका छन्। उनी आजै स्वदेश फर्कने कार्यक्रम छ।
संसद्लाई सम्बोधन गर्ने कार्यक्रम स्थगित भएपनि प्रधानमन्त्री ओली बैठकमा भने सहभागी हुने उनको सचिवालयले जनाएको छ।
प्रकाशित: १२ वैशाख २०८२ ११:५५ शुक्रबार





