जुम्लाको सदरमुकाम खलंगा बजार–५ मा बिहान चिसो हावा चल्न थाल्नासाथ वटुक भैरवनाथ मन्दिरको टहरामा टाँगिएको पर्दा हल्लिन्छ। त्यही पर्दाभित्र नरमा सार्की दिनहुँ जुत्ताहरू मिलाउँदै आफ्नो दैनिकी सुरु गर्छिन्। पसलका हरेक जुत्तासँग उनको जीवनको एउटा–एउटा कथा जोडिएको छ—पसिना, अभाव, प्रेम र कहिल्यै नढलेको आत्मबलको कथा। ‘सुभाष सु–सेन्टर’ नामको सानो पसल आज उनको जीविकाको माध्यम मात्र होइन, दिवंगत श्रीमान् नन्दे सार्कीको सपना जीवित रहेको स्थान बनेको छ।
‘उहाँ बित्नुभएको दिनदेखि मेरो जीवन दुई भागमा बाँडियो,’ नरमा भारी स्वरमा भन्छिन्, ‘तर म कमजोर भएँ भने उहाँले सिकाउनुभएको सीप पनि मर्छ भन्ने डरले म उठिरहेँ।’ चार वर्ष पाँच महिना अघि कोरोना संक्रमणका कारण नन्दे सार्कीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचारकै क्रममा निधन भयो। त्यसयता नरमाले पाँच जनाको परिवारको जिम्मेवारी एक्लै बोकेर कठिन यात्रा अघि बढाइरहेकी छन्।
२०५९ सालदेखि सुरु भएको जुत्ता व्यापारले आज २५ वर्ष पूरा गरेको छ। सुरुमा श्रीमान्–श्रीमती सँगै पसल खोल्थे, जुत्ता बनाउँथे र ग्राहक कुरिन्थे। आज त्यो साथ सम्झनामा सीमित भए पनि पसल बन्द भएको छैन। ‘यो पसल बन्द गर्नु भनेको उहाँको नाम, उहाँको श्रम र सपनालाई बन्द गर्नु जस्तै हुन्थ्यो,’ नरमा भन्छिन्।
पसलमा जेन्स र लेडिज दुवै प्रकारका छालाका जुत्ता पाइन्छन्। जेन्स जुत्ताको मूल्य २ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्म छ भने लेडिज जुत्ता १ हजार ८ सयदेखि २ हजार ८ सय रुपैयाँसम्म पर्छ। फागुनदेखि मंसिरसम्म व्यापार राम्रो चल्ने भए पनि पुस र माघमा बिक्री लगभग ठप्प हुन्छ। यति हुँदाहुँदै पनि उनले हार मानेकी छैनन्।
सिजनमा मासिक ६० हजारदेखि १ लाख रुपैयाँसम्म आम्दानी हुने गर्छ। पसलको भाडा ७ हजार २ सय ६० रुपैयाँ, बस्ने कोठाको भाडा ५ हजार रुपैयाँ तथा खाना र अन्य खर्च कटाएर मासिक करिब ८० हजार रुपैयाँ बचत हुने उनको भनाइ छ। यसरी वार्षिक बचत करिब ९ लाख ६० हजार रुपैयाँ पुग्छ। ‘यो रकमभन्दा ठूलो कुरा आत्मसम्मान हो,’ नरमा गर्वका साथ भन्छिन्।
जुत्ता बनाउने सीप हाल देवर पूर्ण सार्कीले सम्हालिरहेका छन्। ‘उहाँलाई पारिश्रमिक दिन्छु,’ नरमा भन्छिन्, ‘अर्डर अनुसार पनि जुत्ता बनाइन्छ।’ उनका लागि यो व्यवसाय मुनाफाभन्दा पनि परम्परा जोगाउने जिम्मेवारी हो। दैलेखको भगवती गाउँपालिका–४, गाउँकट्टी पुर्ख्यौली घर भए पनि जुम्ला आज उनको कर्मभूमि बनेको छ।
नरमा चार सन्तानकी आमा हुन्—दुई छोरी र दुई छोरा। सबैजना स्नातक तहमा अध्ययनरत छन् र लोकसेवाको तयारीमा जुटिरहेका छन्। ‘बाबु नहुँदा पनि पढाइ रोक्न दिइनँ,’ उनी दृढतापूर्वक भन्छिन्, ‘म थाक्न सक्छु, तर मेरा छोराछोरीका सपना थाक्न दिँदिनँ।’
साँझ पर्दा उनी पसल बन्द गर्छिन्। ताला लगाउँदा क्षणभर रोकिन्छिन्। ‘कहिलेकाहीँ उहाँ यही कतै हुनुहुन्छ जस्तो लाग्छ,’ नरमा आँखाभरि आँसु लिएर मुस्कुराउँछिन्। जुत्ताका टाँकामा उनी श्रीमान्को स्पर्श देख्छिन्, पसलका भित्तामा उहाँको हाँसो सुन्छिन्।
नरमा सार्कीको संघर्ष जुम्लाको एउटा साधारण बजारमा सीमित छैन। यो विपत्तिपछि पनि नझुक्ने महिलाको कथा हो—सीप र श्रमलाई आत्मसम्मानसँग गाँसेर अघि बढ्ने साहसको कथा। खलंगा बजारको त्यो सानो पसल आज पनि मौन रूपमा भनिरहेछ—परिस्थितिले मानिसलाई लडाउँछ, तर इच्छाशक्तिले फेरि उठाउँछ।
प्रकाशित: ११ पुस २०८२ १५:४६ शुक्रबार





