जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राजनीतिमा चरित्र हत्या, बदनामी र षड्यन्त्रका प्रवृत्तिलाई न्यूनीकरण गर्नुपर्ने बताएका छन्।
राजनीति जनताको सेवा र देशको हितका लागि हुनुपर्ने भन्दै उनले राजनीतिक चरित्र जोगाउन धैर्यता र मूल मर्मप्रति प्रतिबद्धता आवश्यक रहेको औंल्याए।
बुधबार नागरिकन्युजको डिजिटल संवाद कार्यक्रम ‘फ्रन्टलाइन’ मा बोल्दै उनले राजनीतिलाई जटिल खेलको संज्ञा दिँदै हरेक पार्टीभित्र विभिन्न चरणमा जटिलताहरू देखापर्ने उल्लेख गरे।
“राजनीतिमा प्रतिस्पर्धा र महत्वाकांक्षा व्यवस्थापन चुनौतीपूर्ण छ। अस्पष्टता र ‘डर्टी गेम्स’ ले एकले अर्कालाई बदनाम गर्ने, अयोग्य ठहर्याउने प्रवृत्ति देखिन्छ,” उनले सुनाए।
डा. राउतले विगतमा छोराले बाबुलाई समेत सत्ताका लागि हत्या गर्ने गरेको उदाहरण दिँदै अहिले भौतिक हत्या नभए पनि चरित्र हत्या र राजनीतिक अस्तित्व समाप्त पार्ने षड्यन्त्रहरू कायमै रहेको बताए।
“यस्ता प्रवृत्तिलाई न्यूनीकरण गर्न धैर्यता र नैतिकता चाहिन्छ। राजनीति जनसेवाका लागि हो, न कि व्यक्तिगत स्वार्थका लागि,” उनले जोड दिए।
डा. राउतले जनमत पार्टीप्रति जनताको आशा र भरोसा रहेको उल्लेख गरे। “जनताले हामीमाथि भरोसा गरेका छन्। आगामी दिनमा हामी झन् सशक्त भएर अघि बढ्छौं,” उनले भने।
जनमत पार्टीले आगामी दिनमा जनताको हित र देशको समृद्धिका लागि थप सक्रियता देखाउने डा. राउतको भनाइ छ।
प्रकाशित: १० वैशाख २०८२ १९:२३ बुधबार





