सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। छलफलमा सभामुख देवराज घिमिरेले पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गरेका थिए।
बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको छ । सोहीबमोजिमको क्यालेन्डरबारे वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ ।
‘संसद्लाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्व बजेट छलफल तथा बजेटको चाप परेको छ । विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसदको छ,’ बैठकमा सभामुख घिमिरेले भने, ‘शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ । उहाँले मलाई समेत भेटेर पहल गरिदिन भन्नुभएको छ ।’
उनले उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको पनि बताए। ‘यो अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसद्ले तयारी गरेको छ। जुनसुकै दिन विधेयक संसदमा प्रस्तुत गर्ने गरी क्यालेन्डरमा सुरक्षित गर्नेछौँ,’ सभामुख घिमिरेले भने। समितिको प्रतिवेदन आए लगत्तै संसद्ले पारित गर्ने प्रक्रिया सुरु गर्ने पनि उनले बताए।
‘निजामती विधेयक पनि समितिबाट आउने अवस्थामा छ,’ सभामुख घिमिरेले भने, ‘नीति तथा कार्यक्रम र बजेटका प्राविधिक सीमालाई ध्यान दिँदै शिक्षा, निजामती लगायतका विधेयक यही अधिवेशनमा पारित गर्न तयारी अवस्थामा रहनुपर्दछ ।
प्रकाशित: १० वैशाख २०८२ १३:०६ बुधबार





