नेपाली कांग्रेसका सांसद जीवन परियारले पूर्व राजा ज्ञानेन्द्र शाह अहिले नागरिकको हैसियतमा रहेकाले संसदीय समितिमा बोलाएर १५ चैतको घटनाबारे सोध्नुपर्ने प्रस्ताव राखेका छन्। शुक्रवार बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै सांसद परियारले यस्तो प्रस्ताव राखेका हुन्।
‘समितिमा मानवअधिकार उलङ्घनका विषयमा कुरा गरिरहेका छौँ भने, अहिले कुरा उठेको छ । यही फागुन २५ गते पूर्व राजा ज्ञानेन्द्र शाह, जो अहिले नेपाली नागरिकका रूपमा हुनुहुन्छ। पोखराबाट काठमाडौं आउँदा जुन स्वागत, सम्मान गरे जनताले, ती पनि जनता नै हुन, त्यसमा दुई मत छैन,’ सांसद परियारले भने, तर, त्यो आवश्यक थियो कि थिएन ? १५ गतेको घटनामा उहाँ संलग्न हुनुहुन्छ कि हुनुहुन्न? भन्नेबारेमा विभिन्न विचार आउन थालेका छन्। सभापति ज्यू पूर्व राजा ज्ञानेन्द्रलाई यो समितिमा बोलाऔँ, यो समितिमा बोलाएर सोधाैँ।'
उक्त घटना मानवअधिकार उलङ्घनको घटना भएकाले पूर्व राजा ज्ञानेन्द्रलाई बोलाएर सोध्नुपर्ने सांसद परियारले बताए। ‘तपाईँले गरेको हो कि होइन ? तपाईँ एउटा नागरिकको हैसियतले यो घटना गर्न पाउनुहुन्छ ? के हो यो कुरा ? यसका बारेमा पनि छलफल गर्न आवश्यक छ,’ उनले भने।
संविधानको नजरमा सबै बराबर रहेको बताउँदै सांसद परियारले कुनै पनि व्यक्तिलाई अराजकता र अमानवीय व्यवहार गर्ने छूट नरहेको बताए।
प्रकाशित: २९ चैत्र २०८१ १४:३३ शुक्रबार




-600x400-wm.jpg)