१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

पूर्णबहादुर खड्का भन्छन्: विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिको निर्णयबाट मात्रै हुन्छ

विशेष महाधिवेशनपछि अहिले कांग्रेसका कुन पक्ष आधिकारिक भन्ने विवाद बढेको छ । दुवै पक्षले आफूलाई आधिकारिक दावी गरिहरँदा अब निर्वाचन आयोगले लिने निर्णयले आधिकारिकताको टुंगो लगाउने टिप्पणी कांग्रेस नेताले गरेका छन् ।  

यहीक्रममा सानेपामा शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको विधानविपरीत विशेष महाधिवेशनको नाममा भेला गरिएको भन्दै कडा आपत्ति जनाएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेस विधानअनुसार मात्रै चल्ने स्पष्ट पारे।

खड्काले राजनीतिक दलहरूको काँधमा संविधान जोगाउने जिम्मेवारी रहेको उल्लेख गर्दै विषम परिस्थितिमा पार्टीभित्रैबाट केही व्यक्तिले अनुशासन विपरीत गतिविधि गरेको आरोप लगाए।

‘पार्टी विधानअनुसार चल्छ। संविधान रक्षा गर्ने दायित्व राजनीतिक दलको हो,’ उनले भने, ‘विशेष महाधिवेशनको नाममा भेला बोलाएर पार्टी विधानविपरीत निर्वाचन आयोगसम्म पुगेको जानकारी पायौँ। त्यसबारे आज हामी निर्वाचन आयोगमा गएर नेपाली कांग्रेस, विधान र वैधानिक पक्षबारे गम्भीर ध्यानाकर्षण गराएर आएका छौँ।’

उनले पार्टीको अधिवेशन तथा विशेष महाधिवेशन गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै भएको दोहोर्‍याए।

‘पार्टीको अधिवेशन र विशेष महाधिवेशन गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र छ,’ खड्काले भने, ‘नेपाली कांग्रेसको विधानले यो अधिकार अरू कसैलाई दिएको छैन। धारा र दफामा यो कुरा स्पष्ट रूपमा उल्लेख छ। केन्द्रीय कार्यसमितिको निर्णयबाट मात्रै विशेष महाधिवेशन हुन सक्छ, तर यसबारे केन्द्रीय समितिलाई थाहै छैन।’

विशेष महाधिवेशन मागकर्ताको निवेदन दर्ताबारे पनि खड्काले प्रष्ट्याए। उनका अनुसार नियमित महाधिवेशन गरियोस्, नभए विशेष महाधिवेशन गरियोस् भन्ने मागसहितको निवेदन दर्ता भएको थियो।

‘यही आधारमा हामीले नियमित महाधिवेशन गर्ने प्रक्रिया अघि बढायौँ,’ उनले भने, ‘तर अहिले त्यसलाई संशोधन गर्नुपर्ने अवस्था आएको छ।’

 

प्रकाशित: २ माघ २०८२ १५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App