नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा समूहले झूटो प्रचार गरेर पार्टीलाई विभाजनतिर धकेलेको आरोप लगाएका छन्।
पार्टी विभाजनपछि सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले एकता जोगाउन सभापति शेरबहादुर देउवाले देखाएको लचकतासमेत अस्वीकार गरिएको दाबी गरे।
खड्काका अनुसार पार्टी एकता कायम राख्न सभापति देउवाले चुनावी टिकटमा हस्ताक्षर नगर्नेसम्मको प्रस्ताव गरेका थिए।
‘टिकटको हस्ताक्षर मैले छाडेर कार्यवाहकको मात्रै होइन, गगनजी तपाईँले जसलाई भन्नुहुन्छ, म उसैलाई दिन तयार छु भनेर सभापतिले भन्नुभएको थियो,’ खड्काले भने, ‘पार्टीको विखण्डन रोक्नकै लागि यस्तो प्रस्ताव गरिएको थियो।’
तर गगन थापा समूहले त्यसलाई समेत नमानेको खड्काको आरोप छ। उनले सभापति र केन्द्रीय समितिको नाम जोडेर झूटा कुराको प्रचार गरिएको भन्दै त्यसले पार्टीभित्र भ्रम फैलाएको बताए।
प्रकाशित: २ माघ २०८२ १५:०५ शुक्रबार




