कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा ठूला जहाज बस्ने विमानस्थल बनाउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्। उनले अहिलेको सुर्खेत विमानस्थल विस्तारका लागि संघीय सरकारको अग्रसरता आवश्यक रहेको बताए।
प्रदेश सरकारको नेतृत्व सम्हालेको एक वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कँडेलले अहिलेको सुर्खेत विमानस्थल विस्तार गर्दै विकल्पमा नयाँ विमानस्थल बनाउने कुरामा सरकार सधैं सहयोगी रहेको बताए। ‘नयाँ विमानस्थल पनि तत्कालै बन्ने होइन, यसकारण अहिलेको विमानस्थल विस्तार गर्दै नयाँ विमानस्थल बनाउने कुरामा प्रदेश सरकारको सहयोग र समर्थन रहन्छ’, उनले भने, ‘अहिलेको विमानस्थल विस्तारका लागि पनि संघीय सरकार सहमत हुन आवश्यक छ।’
मुख्यमन्त्री कँडेलले जेठमा हुने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा भइरहेको विलम्बमा असन्तुष्टि पोखे। फागुन २५ गते दशौं राष्ट्रिय प्रतियोगिताका लागि कर्णाली प्रदेश रंगशालामा सचिवालय स्थापना गरिएको थियो। संघीय मन्त्री तेजुलाल चौधरी र मुख्यमन्त्री कँडेलले संयुक्त रूपमा सचिवालयको स्थापना गरेका थिए। त्यसयता सचिवालयबाट कुनै काम नभएपछि उनले संघीय मन्त्रीसँग असन्तुष्टि पोखेका थिए।
‘साइनबोर्डवाला सचिवालय मात्रै भयो, रिबन काट्ने गरी खोलिएको सचिवालय होइन’, उनले भने, ‘सचिवालय स्थापनाको एक महिनासम्म पनि कुनै काम नभएको देखेपछि संघीय मन्त्रालयसँग यस विषयमा कुरा गरेको छु।’
उनले जुन यतिमा खेलकुदको तयारी हुनुपर्ने हो, त्यो पनि नभएको स्वीकारे। कर्णाली प्रदेश सरकार १०औं राष्ट्रिय प्रतियोगिताको सहआयोजक पनि हो। उनले संघीय सरकारले बजेट नपठाउँदा अहिलेसम्म खेलाडी छनोटको काम पनि नभएको बताए।
‘अरू प्रदेशमा राष्ट्रिय प्रतियोगिता गर्दा पूर्वाधार निर्माणका लागि संघीय सरकारले पर्याप्त बजेट छुट्याउने गरेको बताउँदै कर्णालीमा हुन लागेको प्रतियोगिताका लागि अझैसम्म पूर्वाधार निर्माणका लागि पनि बजेट नपठाएको बताए।
मुख्यमन्त्री कँडेलले भूकम्पप्रभावित जिल्ला जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लाका क्षति भएका सार्वजनिक विद्यालय तथा स्वास्थ्य चौकीहरूको पुनर्निर्माणका लागि ५० करोड विनियोजन गरी ६२ विद्यालय र १८ स्वास्थ्य चौकी गरी ८० वटा संस्थाहरूको पुनर्निर्माणका काम सुरु भइरहेको बताए।
प्रदेश सरकारले यस अवधिमा १०० किलोमिटर सडक कालोपत्रे भएको, २०० किलोमिटर सडक ग्राभेल सडक तथा ५२५ किलोमिटर नयाँ माटे सडक निर्माण भएको, २३ वटा पक्की पुल तथा ४२ वटा झोलुंगे पुल निर्माण भएको जनाएको छ। उनले जनता आवास र विपन्नका घर गरी करिब १०४८ आवास एकाइ निर्माण भएको पनि जानकारी दिए।
चालु आर्थिक वर्षको हालसम्म ३२ करोड १४ लाख ३५ हजार तीन सय ३२ राजस्व संकलन मुख्यमन्त्री कँडेलले जानकारी दिए। मुख्यमन्त्री कँडेलले ३० लाखमाथिका योजना टेन्डरमार्फत गरिएकाले बजेट खर्च केही कम देखिएको बताए। ‘यद्यपि असार मसान्तसम्म बजेट खर्च लक्ष्यअनुसार बढ्ने अपेक्षा छ’, उनले भने, ‘उपभोक्ता समितिबाट कम काम हुँदा र कोटेसन प्रथाको अन्त्य गरिएकाले अहिलेको बजेट खर्च केही कम देखिएको हो।’
मुख्यमन्त्री कँडेलले उत्तरको चीन जोड्ने तीनवटा सडकलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए। कर्णाली करिडोर, भेरी करिडोर र मुगु हुँदै चीन जोड्ने तीनवटा सडकलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै विगतका वर्षभन्दा धेरै बजेट संघीय सरकारमार्फत आगामी आर्थिक वर्षमा प्राप्त हुने आशा व्यक्त गरे।
प्रकाशित: २९ चैत्र २०८१ ०९:४७ शुक्रबार





