२४ चैत्र २०८१ आइतबार
image/svg+xml २२:४९ अपराह्न
राजनीति

प्रत्यक्ष निर्वाचित कार्यकारी नै समृद्धिको आधार: डा. भट्टराई

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने बताएका छन्। उनले यो व्यवस्था लागू भएमा मात्र राजनीतिक स्थिरता कायम हुने र स्थिरताले समृद्धिको ढोका खोल्ने धारणा राखे।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘फ्रन्टलाइन’ मा बोल्दै डा. भट्टराईले यस्तो विचार व्यक्त गरेका हुन्।

नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले सोधेको प्रश्न, “तपाईंहरूले चाहेजति परिवर्तन र आर्थिक क्रान्ति गर्न नसक्नुको कारण अवसरको कमी हो कि अरू केही ?” को जवाफमा उनले भने, “संविधानसभाबाट संविधान बनाउनु गुणात्मक फड्को थियो। जनता सार्वभौम भए, अब हामी राजा-महाराजाको शासनमा थिचिनुपर्दैन। नेपाली जनताले आफ्नो भविष्य आफैं निर्धारण गर्छन् भन्ने कुरा स्थापित भयो। अब मानवीय र प्राकृतिक स्रोतको उपयोग गरी १०-१५ वर्षभित्र देशलाई समृद्धिको शिखरमा पुर्‍याउन राजनीतिक स्थिरता चाहिन्छ।”

उनले संविधान निर्माणकै बेला प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको वकालत गरेको स्मरण गर्दै भने, “मैले त्यतिबेलै भनेको थिएँ, यो प्रणालीबिना नेपालजस्तो देशमा स्थिरता आउँदैन। संविधान जारी भएकै दिनदेखि यो अपूर्ण छ भन्दै आएको छु। अब संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्छ।”

लुइँटेलको अर्को प्रश्न, “सन्तुलन र नियन्त्रण कमजोर भएको हाम्रो देशमा कार्यकारी राष्ट्रपति प्रणालीले संकट निम्त्याउँदैन?” को जवाफमा डा. भट्टराईले लोकतान्त्रिक प्रणालीको प्रस्ताव गरे।

“यो व्यवस्थामा जनताले नै निर्वाचन गर्छन्, जसले अपनत्व र स्वामित्व सुनिश्चित गर्छ। संसद् पूर्ण समानुपातिक बनाएर हिमाल, पहाड, तराई सबैको सहभागिता सुनिश्चित हुन्छ। संसद्ले कानुन बनाउँछ र आवश्यक परे राष्ट्रपतिमाथि महाभियोग लगाएर नियन्त्रण गर्न सक्छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले योग्य मन्त्रीमण्डल बनाएर सुशासन दिन सक्छ। यस्तो सन्तुलन मिलाउन सकिन्छ,” उनले भने।

प्रकाशित: २० चैत्र २०८१ १९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App