नेकपा एमालेका महासचिव शंकर पोखरेलले चैत १५ गते काठमाडौंमा भएको घटनाको मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएको जिकिर गरेका छन् । उनले पूर्व राजाकै योजनामा राजावादीहरूको अराजक समूहले काठमाडौं तीनकुने, कोटेश्वर र जडीबुटी लगायतका क्षेत्रमा उद्दण्डता, अराजकता र हिंसा मच्चाएको बताए ।
‘त्यो घटनापछि सारालाई पीडा भएको छ, दुखेको छ । तर पूर्व राजाले अहिलेसम्म कुनै दुःख व्यक्त नगर्नु आश्चर्य हो,’ नेकपा एमाले सुनसरी जिल्ला कमिटीले बुधबार इटहरीमा आयोजना गरेको जनजागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले भने । उनले अहिलेको अराजकताको कारक पूर्वराजा नै भएकाले सम्पूर्ण जिम्मेवारी उनैले लिनुपर्ने बताए ।
‘पूर्व राजाले फागुन ७ गते गरेको आह्वानकै आधारमा चैत १५ गते काठमाडौंमा अराजकता निम्त्याइएको हो,’ पोखरेले भने, ‘उनको योजना बमोजिम उक्साहटमा त्यस्तो दुःखद घटना भएको हो ।’ महासचिव पोखरेलले बङ्गलादेशकै मोडल अनुसार नेपालमा पनि सता परिवर्तनको दिवा सपना नदेख्न पूर्व राजालाई चेतावनी दिए ।
कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश इञ्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईले अहिलेको व्यवस्था जनताका निम्ति सार्वभौम भएको बताए । उनले जनताले चाहे तानासाह प्रवृत्ति क्षणभरमै सकिने जनाउँदै राजावादीहरूलाई गणतन्त्र विरोधी कुनै पनि हर्कत नगर्न सुल्झाए । सो क्रममा पूर्व मन्त्री भगवती चौधरी, भीम आचार्य, कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीलगायतले बोलेका थिए ।
चैत १५ गते काठमाडौंको तीन कुनेमा राजावादीको प्रदर्शन उग्र बनेपछि एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । यस्तै, कोटेश्वर र जडीबुटी क्षेत्रमा पनि भौतिक संरचनामा आगजनीसँगै अन्य क्षति भएको थियो । सो घटनापछि एमाले लगायतका गणतन्त्रवादी समूहले राजावादी समूहको विरुद्ध विभिन्न कार्यक्रम गर्दै आएका छन् । राजावादी समूहले काठमाडौं घटनापछि पूर्वको इटहरी र दमकमा राके जुलुस निकालेको छ ।
प्रकाशित: २० चैत्र २०८१ १८:१८ बुधबार