२५ चैत्र २०८१ सोमबार
image/svg+xml १५:४९ अपराह्न
राजनीति

तीनकुने घटनाबारे गृहमन्त्री लेखकले जवाफ दिने

राज्य व्यवस्था तथा सुशासन समितिले गत चैत १५ गते राजावादी समूहको प्रदर्शनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका घटनाबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ माग गरेको छ।

समितिले यी घटनाको जिम्मेवारी र सरकारको भूमिकाबारे स्पष्ट पार्न गृहमन्त्रीलाई शुक्रबारको बैठकमा उपस्थित हुन बोलाएको हो।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरूले प्रदर्शनका कारण जनधनको क्षति भएको भन्दै गृहमन्त्रीको जवाफ माग गरेका थिए।

समिति सभापति रामहरि खतिवडाले गृहमन्त्री लेखक शुक्रबारको बैठकमा उपस्थित भएर घटनाको विस्तृत जानकारी दिने बताए।

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुनेमा भएको घटनामा सरकारको गम्भीर कमजोरी रहेको आरोप लगाए।

उनले प्रदर्शन नियन्त्रण गर्न सक्ने अवस्था हुँदाहुँदै सरकारले प्रभावकारी कदम नचालेको र स्थिति बिग्रन दिएको ठहर गरे।

“प्रहरीले घेरा हालेको बेला समात्न नसक्ने, अनि अहिले आएर छिटो समात्छौं भन्ने कुरा कसले पत्याउँछ ?” उनले प्रश्न गरे। पाण्डेले आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई सरकारले नै भगाएको आशय व्यक्त गर्दै प्रहरीको भूमिकामाथि पनि प्रश्न उठाए।

सांसदहरूले प्रदर्शनका क्रममा भएको क्षति र सरकारको तयारीबारे गृहमन्त्रीसँग विस्तृत जवाफ मागेका छन्। समितिको बैठकले यो विषयलाई गम्भीरतापूर्वक लिएको जनाइएको छ।

प्रकाशित: २० चैत्र २०८१ १५:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App