प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसद्मा आएपछि संविधान नमान्ने भन्नु इमानदारीको अभाव भएको बताएका छन्।
फोरियन अफेयर्स मिडियाद्वारा आयोजित ‘हिमालयन डायलग’ को पहिलो शृङ्खलाको उद्घाटन सत्रलाई सोमबार सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति पराजित सामन्तवादको प्रभाव र सङ्क्रमणकाल लम्बाउने प्रयास भएको संकेत गरे।
“संविधानकै व्यवस्थाअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी हो,” उनले भने।
प्रधानमन्त्री ओलीले सामन्ती शासनका कारण नेपाल विकासमा पछाडि परेको उल्लेख गर्दै राजनीतिक परिवर्तनपछि जनताको अपेक्षा पूरा गर्न विकास र सुशासनको यात्रामा सरकार लागिपरेको बताए।
“पराजित सामन्तवादले अझै मलाई साथ देऊ भनिरहेको छ,” उनले राजतन्त्रवादीहरूतर्फ लक्षित गर्दै थपे। शिक्षक आन्दोलनप्रति पनि उनले संवादको ढोका खुला राखे। “जायज माग लिएर आउँदा हामी सुन्छौं, सडकमा दुःख पाइरहनु पर्दैन। शिक्षकहरूले सडकमा बस्नुपर्दैन, संवादबाट यथोचित सम्बोधन गर्छौं,” उनले भने।
उनले नेपालले स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तर्राष्ट्रिय दायित्व निर्वाह गरिरहेको बताए। “बङ्गालको खाडीको तातो हावा छेक्ने र समुद्रलाई मरुभूमिकरणबाट जोगाउने काम हिमालले गर्छ,” उनले भने, “हाम्रो विविधता सम्पत्ति हो, एकताबिना उपलब्धि सम्भव छैन।”
उनले भूराजनीतिक सचेतनासहित राष्ट्रिय हितलाई प्राथमिकता दिने तर कुनै छिमेकीसँग कोल्टिने वा सामरिक गठबन्धन नगर्ने नीति रहेको स्पष्ट पारे। “हामी शान्तिका पक्षमा छौं,” उनले जोड दिए।
प्रधानमन्त्रीले विश्वमा आदर्श कमजोर र स्वार्थ हाबी भएको बेला नेपालले राष्ट्रिय हितसँगै मानवीय सुरक्षा र विश्व हितमा योगदान दिनुपर्ने बताए।
“भूराजनीतिका नाममा कमजोरी ढाक्नुहुँदैन, जवाफदेहीतासहितको हित र विचारलाई छोड्नु पनि होइन,” उनले भने।
हिमालयन डायलगको पहिलो शृङ्खलामा राजनीतिक नेता र कूटनीतिक विज्ञहरूले परराष्ट्र नीतिमा दुई सत्रमा छलफल गर्ने आयोजक फोरियन अफेयर्स मिडियाका अध्यक्ष गोपाल खनालले जनाए।
प्रकाशित: २५ चैत्र २०८१ १५:३१ सोमबार