२५ चैत्र २०८१ सोमबार
image/svg+xml ७:५२ पूर्वाह्न
राजनीति

रास्वपाको ‘जनयात्रा’ शनिबार चितवनबाट, रविले सरकार ढल्नुको कारण खुलासा गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चैत २३ गते शनिबारदेखि चितवनबाट ‘जनयात्रा’ सुरु गर्ने भएको छ। पार्टीले यो अभियानलाई ‘समाधान र सम्भावनाको सङ्कल्प’ का रूपमा अघि सारेको छ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, ‘जनयात्रा’ को शुभारम्भ चितवनको भरतपुरस्थित गेष्ट हाउस चौरमा दिउँसो २ बजे हुनेछ।

रास्वपा नेता बिराज भक्त श्रेष्ठले सामाजिक सञ्जालमार्फत यो अभियान भ्रष्टाचार, कुशासन र अन्यायविरुद्ध गाउँ–गाउँ र बस्ती–बस्तीमा पुग्ने उद्देश्यले सुरु गर्न लागिएको बताएका छन्।

उनले यसलाई सुधारको यात्रा भएको उल्लेख गर्दै न्यायप्रेमी नागरिकको ऐक्यबद्धता आवश्यक रहेकोमा जोड दिए। रास्वपाको केन्द्रीय समितिले गत चैत १८ गते ‘जनयात्रा’ लाई अनुमोदन गरेको थियो।

गत सोमबार वनस्थलीस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीलाई सम्बोधन गर्दै रास्वपाका सभापति रवि लामिछानेले सोही दिन चितवनमा आयोजित सभामा सरकार कसरी बन्यो र किन ढल्यो भन्ने रहस्य खुलासा गर्ने घोषणा गरेका थिए।

सभापति लामिछानेले चितवनका जनताले आफ्नो समर्थनमा दुई पटक अश्रुग्याँस र लाठी खाएको स्मरण गरेका थिए। र चितवनवासीको नाममा सम्बोधन गर्ने घोषणा गरेका थिए।

“चितवनले मेरो लागि धेरै सह्यो, अब म त्यहाँ गएर सत्य सुनाउनेछु। मैले हिरासतमा बिताएका ८४ दिनको अनुभव र सरकारको नियत पनि खुलस्त पार्नेछु।” उनले भनेका थिए।

लामिछानेले आगामी निर्वाचनमा रास्वपाले १०१ उम्मेदवार उठाउने योजना पनि सार्वजनिक गरेका छन्। पार्टीले यो अभियानमार्फत विस्तृत कार्ययोजना बनाएर अघि बढ्ने तयारी गरेको छ।

प्रकाशित: २० चैत्र २०८१ १५:३० बुधबार

खुशी 90.9 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 9.1 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App