१ वैशाख २०८२ सोमबार
image/svg+xml १:१३ पूर्वाह्न
राजनीति

अनेक आवरणमा राजनीतिक यात्रामा पूर्वराष्ट्रपति भण्डारी

पछिल्लो एक वर्षमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका चारवटा प्रदेशमा ‘सुषुप्त’ राजनीतिक यात्रा गरेकी छन्। एमालेभित्र र बाहिर पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन हुने र नहुने बहस चलिरहेको छ। भण्डारीले २०८० फागुन २० गते कर्णालीको सुर्खेतबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन्। यसै यात्राका क्रममा उनी यही चैत १४ गते लुम्बिनी पुगिन्।

राष्ट्रपतिको चार वर्षे कार्यकाल २०७९ फागुन २९ गते सिध्याएर शीतलनिवासबाट बाहिरिएकी उनलाई एमालेले कम्युनिस्ट पार्टी स्थापनाको ७५औं वर्षगाँठको अवसरमा २०८० वैशाख ९ गते ‘गणतन्त्र गौरव’ पदकबाट सम्मान गरेको थियो। त्यसपछि २०८० जेठ १६ र १७ गते आयोजित एमालेका २३ जनवर्गीय संगठनको राष्ट्रिय महिला भेलामा उनी प्रमुख अतिथि बनिन्।

राष्ट्रिय महिला भेलाको व्यवस्थापनका लागि अखिल नेपाल महिला संघकी अध्यक्ष टुका हमालको संयोजकत्वमा ११ सदस्यीय कमिटी बनाएर उनलाई प्रमुख अतिथि बनाइएको थियो। त्यसको एक महिनापछि २०८० असार १४ गते मदन भण्डारीको ७२औं जन्मदिनका अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनी सहभागी भइन्।

फाउन्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको सो कार्यक्रममा उनले मुलुकमा राजनीतिक परिवर्तन पूरा भए पनि क्रान्तिको कार्यभार अझै पूरा भइनसकेको बताएकी थिइन्। ‘मुलुकको राजनीतिक संरचनामा परिवर्तन आए पनि नेपाली क्रान्तिको कार्यभार पूरा भएको छैन,’ उनले भनेकी थिइन्।

दुई कार्यकाल राष्ट्रपति भएर देशको अभिभावकीय भूमिकामा रहेकी भण्डारी त्यसअघि एमाले उपाध्यक्ष र अखिल नेपाल महिला संघको अध्यक्ष थिइन्।

यसैकारण उनले राष्ट्रपतिबाट बाहिरिएपछि पनि एमालेको सक्रिय राजनीतिमा आउने संकेत गरिरहेकी छिन्। यसैक्रममा उनले पछिल्लो एक वर्षमा मुलुकका सातमध्ये चारप्रदेशमा विभिन्न कार्यक्रम बनाएर एमालेका नेता–कार्यकर्तासँग अन्तक्र्रिया गरेकी छन्। सरकारी सुविधा छाडेर निजी निवासमा बसिरहेकी भण्डारीले अनौपचारिक रूपमा दिनहुँजसो राजनीतिक भेटघाट गरिरहेकी छन्।

कर्णाली

पूर्वराष्ट्रपति भण्डारी २०८० फागुन २० गते सुर्खेत पुगेकी थिइन्। वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको पहिलो कर्णाली महिला सम्मेलन उद्घाटन गर्न उनी सुर्खेत गएकी थिइन्।

उनले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कर्णालीका ७९ वटै पालिकाका प्रमुख, उपप्रमुख, महिला नेत्री र आमा समूहलगायत समाजका अगुवा महिलाको सहभागितामा सो सम्मेलन उद्घाटन गरेकी थिइन। तीन दिन सुर्खेत बसेकी उनले एमाले कर्णालीका नेता–कार्यकर्तासहित लब्धप्रतिष्ठित व्यक्तिहरूसँग भेट गरेकी थिइन्।

गण्डकी

पूर्वराष्ट्रपति भण्डारी धार्मिक भ्रमणसँगै स्थानीयस्तरका नेता÷कार्यकर्तालाई भेट्न गत पुस २ गते गण्डकी प्रदेशको पोखरा पुगेकी थिइन्। त्रिभुवन विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयको आयोजनामा पुस ४ गते पोखरामा भएको ‘फेवा डाइलग’मा सहभागी हुन् पोखरा पुगेकी उनले होटल ग्रान्डमा बसेर एमाले नेता– कार्यकर्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि, महिला नेत्रीलगायतसँग भेट गरेकी थिइन्।

भेटघाटपछि उनी फेवा डाइलगमा सहभागी भएकी थिइन्। त्यसक्रममा एमाले कास्की इन्चार्ज कृष्ण थापा, स्थायी कमिटी र केन्द्रीय कमिटीका केही सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर केसी, सांसदसँग कुराकानी गरेकी थिइन्।

भण्डारीले भेटघाटसँगै विभिन्न मन्दिरको भ्रमण पनि गरिन्। उनी पुस २ गते कास्कीमा नवनिर्मित शिव मन्दिर पुगेकी थिइन्। पुस ५ गते पोखराबाट स्याङ्जा पुगेकी उनले कालीगण्डकी गाउँपालिकास्थित धार्मिकस्थल आलमदेवीको दर्शन गरिन्। भण्डारीलाई स्याङ्जा र कास्कीको सिमाना फेदीखोलादेखि पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ र कालीगण्डकीमा स्थानीय, पार्टीका नेता–कार्यकर्ताले स्वागत गरेका थिए। उनलाई कालीगण्डकी गाउँपालिकाले पनि स्वागत गरेको थियो।

पुस ६ गते स्याङजाको सालमे डाँडामा गोर्खा स्मारकको भ्रमण गरेकी उनी ७ गते बिहान सारङकोट पुगेकी थिइन्। त्यहाँ पनि उनको भेटघाट कार्यक्रम थियो। उनी पुस ७ गते साँझ गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा महानगर प्रज्ञा प्रतिष्ठानको सांस्कृतिक कार्यक्रममा सहभागी भएकी थिइन्।

कोसी

पूर्वराष्ट्रपति भण्डारी माघ १४ गते कोसी प्रदेशको राजधानी विराटनगर पुगिन्। त्यहाँ उनले राजनीतिक भेटघाट गरिन्। इटहरीस्थित जनता माविको ६८औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन कोसी प्रदेश पुगेकी भण्डारीले आफ्ना पुराना सहकर्मीदेखि पार्टीका नेता–कार्यकर्ताहरूसँग छलफल गरिन्।

उनलाई त्यहाँ एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादीमा गएका नेताहरूले समेत भेटेका थिए। त्यहाँ उनले आफूले तत्काल पार्टीमा फर्कने, नफर्कने विषयमा निर्णय गरिनसकेको आशय व्यक्त गरेकी थिइन्। उनी मोरङ र सुनसरी जिल्लाका करिब एक दर्जन कार्यक्रममा सहभागी भएकी थिइन्।

माघ १४ देखि २० गतेसम्म भण्डारीले अनौपचारिक रूपमा झन्डै एक हजारजनालाई भेटेको उनीनिकट बताउँछन्। विराटनगरस्थित बिग होटेलको कोठा नम्बर २१४ मा बसेर उनले कोसी प्रदेशका नेताहरूसँग भेटघाट गरेकी थिइन्।

विराटनगरमा भण्डारीले नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मी र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग गरेको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको थियो। भेटघाट र विभिन्न कार्यक्रममा भण्डारीले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, युवा रोजगारीलगायत क्षेत्रमा सुधार गर्ने अभियानको रूपमा आफू विराटनगर आएको बताएकी थिइन्। एमाले उपाध्यक्ष गुरु बरालसहित केही नेता–कार्यकर्ता अधिकांश समय भण्डारीसँगै रहेका थिए।

लुम्बिनी

गण्डकी र कोसी प्रदेशको यात्रापछि भण्डारी यही चैत १४ गते लुम्बिनी प्रदेशको रूपन्देही पुगिन्। चार दिने लुम्बिनी यात्रामा उनले भैरहवामा उद्यमी महिलासँग भेट गरिन् भने लुम्बिनी केबलकारबाट पाल्पाको नुवाकोट गएर कामाख्या मन्दिर दर्शन गरिन्।

चैत १५ गते लुम्बिनीमा एउटा गुम्बाको शिलान्यास गरेपछि केहीबेर त्यहाँ घुमेर नवलपरासीको त्रिवेणी दर्शन पुगिन्। १६ गते सिद्धार्थनगर नगरपालिकाले आयोजना गरेको लुम्बिनी प्रदेशसभाका महिला सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षसहित सबै पार्टीका महिला नेत्रीहरूको भेलालाई सम्बोधन गरेकी उनी १७ गते काठमाडौं फर्केकी थिइन्।

भण्डारीलाई भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा एमाले सचिव पद्मा अर्याल र पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री लीला गिरी, प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी प्रदेशसभा सदस्य जानकी न्यौपाने, स्थानीय तहका उपप्रमुखलगायतले स्वागत गरेका थिए।

धार्मिक र सामाजिक यात्राका नाममा विभिन्न जिल्ला पुगेकी भण्डारीलाई समर्थकले पार्टी राजनीतिमा सक्रिय हुन आग्रह गरेका थिए। एमाले कार्यकर्तासँगै शुभेच्छुक र समर्थकले भण्डारीको यात्रालाई चासोका साथ हेरेका छन्।

मधेस र सुदूरपश्चिमबाट निम्ता

स्वकीय सचिव राजकुमार राईका अनुसार पूर्वराष्ट्रपति भण्डारीलाई मधेस र सुदूरपश्चिम प्रदेशबाट पनि भ्रमणका लागि निम्ता आएको छ। ‘समय मिलाएर ती प्रदेश भ्रमणमा जाने तयारी छ। अहिले मिति तय भएको छैन,’ स्वकीय सचिव राइले भने। मधेस र सुदूरपश्चिम प्रदेशबाट आएको निम्ता स्वीकार भइसकेको तर समय नमिलेकाले मिति तय नभएको राईले बताए। भण्डारीको बागमती प्रदेशका नेता–कार्यकर्तासँग भने दिनहुँजसो भेटघाट भइरहेको छ।

प्रकाशित: २५ चैत्र २०८१ ०६:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App