बागमती प्रदेशसभाको बैठक आज अपराह्न १ बजेका लागि बोलाइएको छ। बजेट बाँडफाँटमा दलीय सहमति नहुँदा मङ्गलबारको बैठक सूचना टाँसेर स्थगन भएको थियो।
सभामुख भुवनकुमार पाठकले बैठक सञ्चालनका लागि आज पनि दलहरूबीच छलफल हुने र सहमतिका लागि हरसम्भव प्रयास गरिने बताए। सरकार पक्ष र प्रतिपक्षबीच छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएकाले आज फेरि संयुक्त छलफल राखिएको उनले जानकारी दिए।
चालु आर्थिक वर्षको बजेट बाँडफाँटमा सरकारले सन्तुलन कायम गर्न नसकेको र विगतका सहमति कार्यान्वयन नभएको भन्दै प्रतिपक्ष दलले बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन्। यो अवस्थामा सहमति जुटाउन सभामुख पाठकले दलहरूसँग संयुक्त छलफललाई निरन्तरता दिइरहेका छन्। रासस
प्रकाशित: २० चैत्र २०८१ ११:१७ बुधबार