२ वैशाख २०८२ मंगलबार
image/svg+xml २१:२ अपराह्न
सम्पादकीय

डिजिटल छलाङ

चाहे पनि नचाहे पनि हामी यतिबेला बाँकी दुनियाँसँगै डिजिटल युगको यात्रामा छौँ। सम्पन्न र विकसित देशहरूले यसको फाइदा धेरै लिएका होलान्, अनि हामी जस्ता विपन्न राष्ट्रले त्यसको भाग कम पाएका हौँला। तर पनि वास्तविकताचाहिँ यो हो कि हामी आज विपन्नता वा गरिबी वा अभाव जस्ता कुनै पनि बहानामा यसबाट अलग हुने अवस्थामा छैनौँ। खासमा यस्तो हुनु पनि हुन्न किनकि यसो भएमा हाम्रो यात्रा अग्रगमनको नभई प्रतिगमनको हुने निश्चित छ।

डिजिटल प्रविधिमा आएको विकाससँगै नेपालको डिजिटल बैँकिङ कारोबार वृद्धि भएको छ। तरकारीदेखि कपडासम्म, चियादेखि पिज्जासम्म र हवाईजहाजको टिकटदेखि पिउने पानी, विद्युत् आदिको शुल्कसमेत डिजिटल भुक्तानीमार्फत हुने क्रम बढ्दो छ। देहातको सामान्य गाउँदेखि काठमाडौँको न्युरोडका बजारसम्म भुक्तानीका लागि भित्ता र टेबलमा क्युआर (क्विक रेस्पोन्स) कोड खोजिरहेका ग्राहक देखिनु सामान्य हुन थालेको छ। खासगरी इन्टरनेटको पहुँचमा देखिएको बढोत्तरी र स्मार्टफोनको प्रयोगले यस्तो कारोबारलाई सहज तुल्याउन भूमिका निर्वाह गरिरहेका छन्। 

आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्मको अवधिमा क्युआरमा आधारित भुक्तानी कारोबारको संख्यामा औसतमा वार्षिक करिब २३० प्रतिशतले वृद्धि हुनु डिजिटल कारोबारमा आएको छलाङ हो। २०८१ माघमा मोबाइल बैंकिङ खाताको संख्या दुई करोड ६५ लाख पुग्नुले पनि यो कारोबार नेपालीबीच प्रिय बन्दै गएको प्रष्ट हुन्छ। परम्परागत भुक्तानी झन्झटिलो हुनु, समय बढी खर्च हुनु तथा बढ्दो वित्तीय साक्षरता जस्ता कारणले पनि डिजिटल कारोबारतर्फ मानिसलाई डोर्‍याएको बुझ्न कठिन छैन। 

नगद बोकेर हिँड्नु नपर्ने, यही कारण पैसा चोरिने/हराउने सम्भावना नहुने, नोटको हाताहाती कारोबारका कारण च्यातिने, मैलने र फेरिन पैसा तिरेर नयाँ पैसा छाप्नुपर्ने अवस्था न्यून हुने, वित्तीय संस्थाहरूलाई पनि जनशक्ति कम राखे पुग्ने, पैसा तत्काल जम्मा हुने र त्यही कारण काम बन्ने जस्ता विविध कारणले डिजिटल कारोबारप्रति आममानिसको रुचि बढिरहेको देखिन्छ। यतिबेला बढी उमेर समूहका व्यक्तिसमेत यस्तो कारोबारमा रम्न थालेका देखिनुले यो कारोबारको प्रभाव बुझ्न मद्दत गर्छ।

विद्युतीय भुक्तानीका लागि प्रयोग हुने उपकरण/माध्यममध्ये प्रिपेड कार्ड, वालेट खाता, कनेन्ट आइपिएस खाता र मोबाइल बैंकिङ खाता निकै प्रिय हुँदै गएका देखिन्छ। नेपाल राष्ट्र बैंकले रूप पे, वि च्याट पे, अली पे प्लसजस्ता विदेशमा जारी भएका भुक्तानी उपकरणको प्रयोग गरी नेपालमा भुक्तानी स्वीकार गर्न सकिने सेवा सञ्चालनमा ल्याएपछि विदेशबाट समेत नेपालमा विद्युतीय भुक्तानी हुन सकेको छ। ‘यत्र तत्र सर्वत्र’ भनेझैँ डिजिटल कारोबारले नेपालमा पनि अहिले आफ्नो प्रभाव जमाइरहेको छ। यो विकसित प्रविधि र आधुनिकताको स्वाद चाख्ने हिसाबले तथा फूर्तिलो हुने हिसाबले उत्साहप्रद् छ। माथिका तथ्यांक यसका साक्षी हुन्।

अहिले कतिपय अवस्थामा एटिएम मेसिनहरूमा कार्ड नै अड्कने, पैसा नआउने तर कागजातमा भने आएको देखाउने र कतिपय अवस्थामा बचतमा पनि काटिएको देखाउने, मोबाइल बैंकिङ प्रयोग गर्न खोज्दा सम्बन्धित बैंकको प्रविधिमा गडबडी भइरहने कारण ग्राहकको काममा ढिलाइ हुने र कतिपय अवस्थामा वित्तीय साक्षरताको कमीले प्रयोग र लाभमा समेत असर पर्ने देखिएको छ। त्यति मात्र हैन, डिजिटल कारोबारका केही माध्यममार्फत झिक्ने कार्य सहज भए पनि जम्मा गर्न भने अप्ठेरो अवस्था पनि छ। 

अर्कोतर्फ कारोबारमा तोकिएको सीमिततालाई पनि धेरैले रुचाएका छैनन्। यस्ता समस्यालाई हल गर्दै जाने हो पक्कै पनि डिजिटल कारोबारको क्षेत्रमा नेपालले अझै छलाङ थप्नेमा शंका मान्नु पर्दैन। जुन बढ्दो आर्थिक सक्रियतका लागि लाभदायक पाटो नै सावित हुनेछ। 

प्रकाशित: २५ चैत्र २०८१ ०६:०७ सोमबार

Download Nagarik App
Download Nagarik App