पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले सबै उद्यमी व्यवसायीलाई समान रुपले कारोबार र प्रतिष्पर्धा गर्ने मौका दिने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले सरकारले कुनै निश्चित उद्योगी व्यवसायीको पक्षमा नीति निर्माण नगर्ने बताए। उनले अर्थतन्त्रमा देखिएका कानूनी जटिलतालाई समाधान गर्न सरकार लागि परेको बताए। उनले विगतमा अर्थतन्त्रमा देखिएका विभिन्न विकृतिका कारण समस्या उत्पन्न भएको बताउँदै सरकारले लिएको लक्ष्यमा पुग्न नसकिएको बताए। उनले सरकारले राज्यका कुनैपनि निकायमार्फत तर्साउने, धम्क्याउने वा असुली गर्ने काम नगर्ने भन्दै उद्योग व्यवसायीलाई आश्वस्त पारे।
उनले भने, ‘खास गरी अहिले हाम्रो अर्थतन्त्रमा अघि उद्योग मन्त्रीले पनि भन्नुभयो, केही कानूनी जटिलताहरु छन् । त्यसलाई हामीले सल्ट्याउँदै छौँ । हिजोका अर्थतन्त्रका केही विकृतिहरुलाई हामीले समाधान गर्दै जानुपर्नेछ । जुन उत्साह हामीले अपेक्षा गरेका छौँ त्यो रुपमा अझै पुग्या छैनौँ कि भन्ने हामीलाई पनि लागेको छ । तर एउटा दुई वटा कुरामा तपाईहरु निश्चिन्त हुनुहोस् । पहिलो कुरा राज्यले सरकारले कुनै निश्चित व्यवसायीको पक्षमा मात्रै कुनै नीति निर्माण गर्दैन । त्यस्ता व्यवसायको पक्षमा मात्रै कुनै निर्णय गर्दैन । र राज्य निजी क्षेत्रमैत्री हुनका लागि सबै व्यवसायीलाई समान कारोबार गर्ने प्रतिस्पर्धा गर्ने मौका दिन्छ भन्ने कुरामा यो सरकार तपाईहरु आश्वस्त हुनुहोस् । दोस्रो कुरा तपाईहरुले गल्ती नगरुन्जेल राज्यले थुन्ने छेक्ने दुरुत्साहित गर्ने काम गर्दैन । चाहे त्यो राजश्व अनुसन्धानको माध्यमबाट होस् चाहे सम्पती शुद्धिकरणको माध्यमबाट होस्, अख्तियारको माध्यमबाट होेस् वा अरु कुनै माध्यमबाट होस् । राज्यले राम्रो व्यवसाय गर्नेलाई तर्साउने धम्क्याउने र असुली गर्ने काम गर्दैन भन्ने कुरामा तपाईहरु ढुक्क हुनुहोस् ।’
प्रकाशित: ८ चैत्र २०८१ १४:५८ शुक्रबार