१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ११:२५ पूर्वाह्न
राजनीति

स्थिति तनावग्रस्त बनेपछि संयमित बन्न दुर्गा प्रसाईंको आग्रह

काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार दिउँसो राजसंस्था पुनर्स्थापना, हिन्दू राष्ट्र पुनर्स्थापना र संघीयता खारेजीजस्ता मागसहित प्रदर्शन भइरहेको छ। दुर्गा प्रसाईंको नेतृत्वमा गरिएको प्रदर्शनलाई ‘संयुक्त जनआन्दोलन समिति’ सहित राप्रपा, राप्रपा नेपालजस्ता दलहरूले समर्थन जनाएका थिए।

बिहान ११ बजेदेखि नै प्रदर्शनकारीहरू जम्मा हुन थालेका थिए। निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रयोग गरी तितरबितर पारेको छ।

झडपका क्रममा प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेका थिए भने प्रहरीले लाठीचार्जसमेत गरेको छ। यस क्रममा केही प्रदर्शनकारी घाइते भएका छन्।

प्रदर्शनका क्रममा केही स्थानीय बासिन्दाका घरहरू तोडफोड भएको छ। प्रहरी त्यहाँबाट अश्रुग्यास प्रहार गरिरहेको भन्दै प्रदर्शनकारीहरूले आक्रोशमा आएर तोडफोड गरेको बताइएको छ। घरधनीहरूको पहिचान खुलेको छैन भने तोडफोडमा संलग्न व्यक्तिहरू पनि पहिचान हुन बाँकी छ।

स्थिति तनावग्रस्त बनेपछि दुर्गा प्रसाईंले प्रदर्शनकारीहरूलाई संयमित रहन आग्रह गरेका छन्। सभास्थलबाट उनले आन्दोलनकारीहरूलाई तोकिएको स्थानमै रहन अपिल गर्दै झडपबाट बच्न अनुरोध गरेका छन्।

प्रदर्शनमा सहभागीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो र राष्ट्रिय झण्डा बोकेर नाराबाजी गरेका थिए। सभास्थलमा शाह र प्रसाईंको फोटोसहितको ब्यानर राखिएको थियो।

तर, राप्रपालगायत केही नेताहरूले प्रसाईंको मात्र फोटो राखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। प्रसाईंले भने यो प्रदर्शन आफ्नो नेतृत्वमा आयोजित भएकाले स्वाभाविक रहेको बताएका छन्।

प्रकाशित: १५ चैत्र २०८१ १४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App