मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा माहोल बनेपछि अहिले ढोक्सा थाप्न आएको आरोप लगाएका छन्।
भक्तपुरस्थित निवासमा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफूले माहोल बनाएपछि लिङ्देन र थापा ढोक्सा थाप्न आएको आरोप लगाएका हुन्।
उनले पूर्वराजा पोखराबाट काठमाडौं आउँदा आइतबार स्वागत भएको विषयलाई राप्रपा र राप्रपा नेपालले आफूहरूले गरेको जस लिन खोजेकोमा पनि आपत्ति जनाए।
प्रसाईंले भने, ‘राजसंस्था र हिन्दु अधिराज्यलाई खोलामा बगाएर समुन्द्रमा तिलाञ्जली दिने, अनि अहिले माहोल बनेपछि धमिलो पानीमा माछा मार्नलाई ए हामीले गरेको, काठमाडौं महानगरमा गएर पैसा तिरेर हामीले गरेको, अनि चैत १ गतेदेखि आन्दोलन सुरू गरिहालौं, दुर्गा प्रसाई आउनुपर्यो हामीसँग मिल्नुपर्यो। उहाँहरूले मलाई गोठालोजस्तो पो सम्झनुभएको छ।’
प्रसाईंले पूर्वराजाको हात समातेर नारायणहिटी छिराउने तयारी गरिएको पनि बताए ।
प्रकाशित: २७ फाल्गुन २०८१ १२:४३ मंगलबार





