नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अध्यक्ष समिक बडालले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई सामाजिक सञ्जालमा तिक्तता पोख्नुभन्दा मन्त्रीसँग समन्वय गर्ने कि भन्दै प्रश्न गरेका छन्।
बडालले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै स्टाटस लेख्नुभन्दा मन्त्रीसँग समन्वय गर्नुपर्ने बताए। उनले लेखेका छन्, 'काठमाडौँ महानगरमा कार्यकारी नआउँदा मेयर बालेन्द्र साहेबले प्रधानमन्त्रीलाई नै गुनासो पोख्नुपर्ने अवस्था आयो! मन्त्रीसँग समन्वय गर्ने कि फेसबुकमा तिक्तता पोख्ने? लौ है, छिटो कार्यकारी पठाइदिनुस्, नत्र मेयर बालेन्द्र साहेबलाई अर्को शुक्रबार फेरि नयाँ स्टाटस लेख्न बाध्य पार्ने खतरा छ!'
पछिल्लो समय सरकारले काठमाडौँ महानगरपालिकामा प्रशासकीय अधिकृत नपठाएको आरोप मेयर बालेनले लगाउँदै आएका छन्। यसै सन्दर्भमा बालेनले हिजो (शुक्रबार) फेसबुकमा प्रधानमन्त्रीलक्षित एउटा स्टाटस लेखेका थिए।
यो पनि पढ्नुहोस्
बालेन भन्छन्- प्रधानमन्त्रीज्यू, मलाई हराउने ताकमा देशलाई चाहिँ नडुबाउनु होला
त्यसको काउन्टर एमाले महासचिव शंकर पोखरेलले गरेका थिए। उनले बालेनतर्फ प्रश्न तेर्स्याउँदै प्रमुख प्रशासकीय अधिकृत काठमाडौँ महानगरमा जान किन मान्दैनन् भनेर खोज्नुपर्ने बताएका थिए।
यो पनि पढ्नुहोस्
बालेनलाई शंकरको प्रश्न : कार्यकारी अधिकृत काठमाडौँ महानगर जान किन मानिरहेका छैनन् ?
प्रकाशित: १७ फाल्गुन २०८१ ०७:१६ शनिबार