डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले फागुन १ गते ११ सदस्यीय पदाधिकारीसहित ९० केन्द्रीय सदस्य (नौ जना मनोनीत हुन्छन्) निर्वाचनमार्फत चयन गर्यो। जहाँ, २३ वर्षीय अमित खनाल पनि समेटिए।
रुपन्देहीको बुटवलमा जन्मिएका अमित अहिले भारतको महाराष्ट्र कोहलपुरमा इन्जिनियरिङ पढिरहेका छन्। उनी नयाँ शक्तिको महाधिवेशनकै लागि काठमाडौं आए।
१८ वर्षको हुँदादेखि विद्यार्थी राजनीतिमा जोडिएका अमितले नयाँ शक्तिको आइटी विभागमा समेत काम गरिसकेका छन्। केन्द्रीय सदस्य निर्वाचित भइसकेपछि हामीले उनलाई अबका योजना के छन् भनेर सोध्यौँ। उनले मुख्यत: दुईवटा योजना सुनाए। त्योभन्दा अगाडि उनले युवाहरूले पनि उच्च राजनीतिक चेत राख्दोरहेछन् भन्ने पुष्टि गर्न चाहेको बताए।
पाका नेताहरूले युवाहरू; त्यसमा पनि जे-जी पुस्ता अराजकता मच्चाउने, अध्ययन नगर्ने, अनुभव नभएको सोच्ने गरेको उल्लेख गर्दै उनले भने, 'उहाँहरूले हामीलाई कलिलै सोच्नुहुन्छ। सिद्धान्त थाहा छैन भनेर सोच्नुहुन्छ। तर, युवाहरू पनि अध्ययन गर्छन्। उनीहरूलाई पनि स्टालिन थाहा छ, स्टालिन प्रवृत्ति थाहा छ। अराजक छैनन्। उच्च राजनीतिक चेत राख्छन्। म यही पुष्टि गर्न चाहन्छु।'
यसपछि उनले आफ्ना मुख्य दुई योजना सुनाए। उनको पहिलो योजना छ- युवा तथा विद्यार्थीका समस्या सुन्ने, उनीहरूकै लागि राजनीति गर्ने। यो कसरी हुन्छ ? अमितले बेलिविस्तार गराए, 'इन्टर्याक्सन जेन-जी नामको कार्यक्रम बनाउँदै छु। महिना दुईपटक इन्टर्याक्सन हुन्छ। त्यहाँ विद्यार्थी तथा युवाहरू सहभागी हुनुहुन्छ र उहाँहरूले समस्या राख्नुहुन्छ। कस्ता समस्याहरू हुन्छन्, ती समस्याहरूको सम्बोधन गर्न प्रयास गर्ने हो। सबै सकिँदैन होला। तर, सक्दो गर्ने।'
उनी थप्छन्, 'युवाको समस्या युवाले नै बुझ्छन्। सबै दलहरूले युवाका लागि राजनीति गर्ने, काम गर्ने भन्छन्। तर, त्यो कागजमा मात्रै देखिन्छन्। अब नेसपाले चाहिँ गर्छ, मचाहिँ गर्छु।'

उनको दोस्रो योजनाचाहिँ पार्टीलाई डिजिटल्ली बलियो बनाउने हो। गठन भएको पाँच महिना नपुग्दै प्रतिनिधि सभामा २० सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदाहरण दिँदै उनी भन्छन्, 'रास्वपाको कार्यकर्ता छैनन्। कुनै जनवर्गीय सङ्गठनहरू छैनन्। तर, सोसल मिडियाहरूमा उनका मान्छेहरू छन्। एआईको दुनियाँ हो, त्यसमा पार्टीको सहभागिता दह्रो रहन्छ अब।'
भौतिक सङ्गठन मूलभूत कुरा भए पनि डिजिटल रूपमा पनि अब पार्टीहरूले विचार तथा कार्यक्रमहरू समप्रेषण गर्नुपर्ने बुझाइ अमितको छ। र, त्यसमा नयाँ शक्ति कमजोर नहुने उनले बताए।
अध्यक्षलाई सुझाव
अमित पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईलाई सरल भाषामा भाषण गर्न सुझाउँछन्। आफूलगायतका युवा पिँढीले बुझ्ने भए पनि पार्टी तथा बाहिर रहेका अघिल्लो पुस्ताका मान्छेलाई अध्यक्षको भाषण बुझ्न गाह्रो पर्ने उनको ठम्याइ छ।

'उहाँले त देश विदेशमा पढ्नुभएको छ। उहाँले जसरी पनि बोल्न सक्नुहुन्छ, जेमा पनि बोल्न सक्नुहुन्छ, भाषण गर्न सक्नुहुन्छ। तर, पार्टीमै रहेका वा बाहिरै रहेका अघिल्लो पुस्ता, जसले पर्याप्त मात्रामा पढ्नुभएको छैन। देश विदेश घुम्नुभएको छैन, उहाँहरूलाई बुझ्न सहज हुँदैन।'
बाँकी बाबुरामको विज्ञता, जोश र अभुनव देखेर उनलाई खुसी लाग्छ।
प्रकाशित: २ फाल्गुन २०८१ २०:३३ शुक्रबार