१७ माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘अराजकताको बाटोबाट परिवर्तन असम्भव’

ओलीको प्रश्न: दरबार निल्ने घाँटी कत्रो हो?

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि औंला ठड्याउनेहरूले नै जग्गा र दरबार निलेको टिप्पणी गरेका छन्। नुवाकोटको विदुरमा रहेको शेरा दरबारले चर्चेको १८४ रोपनीमध्ये १६४ रोपनी जग्गा अन्नपूर्ण फार्मिङका नाममा गएको विषयलाई लक्षित गर्दै एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले त्यस्तो टिप्पणी गरेका हुन्।

‘हामीमाथि औंला ठड्याउनेहरूको विषयमा अहिले म केही भन्न चाहन्नँ, घाँटीको नली पनि कत्रो होला जग्गा पायो जग्गा नै कोप्ल्याक्कै, दरबार पायो दरबार नै कोप्ल्याक्कै निलेको छ, पेट पनि कत्रो होला?’ प्रधानमन्त्री ओलीले संसदीय दलको बैठकमा सांसदहरूलाई सम्बोधन गर्ने क्रममा भने।

शेरा दरबार र त्यसले चर्चेको जग्गा अन्नपूर्ण फार्मिङका नाममा भएको र त्यसको स्वामित्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालय रहेर काम गरिसकेका र माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य विकेश श्रेष्ठको नाममा रहेको छ। तर पूर्वप्रधानमन्त्री दाहालको सचिवालयले शेरा दरबारसँग दाहालको नाम जोडिनु आपत्तिजनक भएको भन्दै खण्डन गरेको छ।

प्रधामनन्त्री ओलीले माओवादी केन्द्रको नाम नलिई मंगलबार बसेको संसदीय दलको बैठकमा दरबार नै निल्ने पेट कत्रो होला भनेर प्रश्न गरेका थिए। त्यही क्रममा ओलीले यस्ता विषयहरू समयक्रममा खुल्दै जानेसमेत बताएका थिए।

संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आम रूपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई पछौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको बताए।

यही माघ १८ गते सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा मंगलबार बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही गरौं भन्ने युवाहरूलाई स्वदेशमा काम गर्ने उचित वातावरण दिन, जनताका सेवामा प्रभावकारिता ल्याउन र उद्योग–व्यवसाय सुसञ्चालनका लागि सहज वातावरण बनाउन अध्यादेश ल्याइएको स्पष्ट पारे।

उनले विभिन्न अध्यादेशबाट २९ वटा कानुनमा संशोधन गरिएको र छिट्टै प्रतिस्थापन विधेयक ल्याएर स्थायी कानुन बनाई प्रभावकारी कार्यान्वयन गर्ने बताए । त्यसक्रममा उनले सांसदहरूलाई तथ्यका आधारमा बहस गर्न र कुरा राख्न निर्देशन दिए।

गत पुस २६ गतेको मन्त्रिपरिषद् बैठकले ती अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि अध्यादेश जारी भएका थिए। एमाले संसदीय दलका नेता प्रधानमन्त्री ओलीले सदनमा तथ्य र तर्कका आधारमा संयमित भई जिम्मेवार रूपमा प्रस्तुत हुन तथा प्रभावकारी उपस्थिति जनाउन सांसदहरूलाई आग्रह गर्दै अरूले गलत आरोप र भ्रम छरे रचनात्मक र सशक्त प्रतिवाद गर्न निर्देशनसमेत दिए।

राष्ट्रिय एकता, हित, स्वाधीनता र सार्वभौमसत्ताका पक्षमा स्पष्टताका साथ सरकार प्रस्तुत हुने र जनताको सुशासनका पक्षमा नीतिगत स्पष्टता र व्यावहारिक रूपमा दृढताका साथ प्रस्तुत हुनुपर्ने पनि बताएका थिए। उनले सांसदहरूलाई शालीन र सशक्त भएर प्रतिपक्षले उठाएका विषयमा प्रतिवाद गर्नसमेत निर्देशन दिएका थिए।  

प्रधानमन्त्री ओलीले नेपाल दुवै छिमेकी मुलुकसँग साँच्चिकैको सन्तुलित, मित्रतापूर्ण, आशंकारहित र पारस्परिक लाभका आधारमा सम्बन्ध सुदृढ गर्दै लाने र छिमेकीको विकासको लाभ लिने बताए।

उनले नेपालले छिमेक सम्बन्धलाई विशेष प्राथमिकता दिने र अन्तर्राष्ट्रिय सम्बन्धलाई देखिने र सुनिने बनाउने पनि जनाए। ‘केही भएन भन्ने गलत भाष्य स्थापित गर्न खोजिएको छ। हामी शिक्षा, स्वास्थ्य, कृषि आदि क्षेत्रमा ध्यान दिएर काम गरिरहेका छौं। हामीले सरकारका नेतृत्व गरिरहँदा असाधारण रूपमा काम गर्नुपर्छ। अहिलेको संयुक्त सरकार आगामी निर्वाचनसम्म जानेछ। सरकार आजै ढल्यो, भोलि नै ढल्यो भनेर गरिएको प्रचारको कुनै अर्थ छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘श्रीलंका र बंगलादेशका उदाहरणका कुरा गरे पनि नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रियाबाहेक अरू प्रकारका अराजकताको बाटोबाट परिवर्तनको अपेक्षा सम्भव छैन।’

प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्दा राष्ट्रिय एकतालाई मजबुत बनाउने र स्वीकार्यताको दायरा बढाउने क्रममा यसअघि नेपालको नयाँ राजनीतिक नक्सा समावेश गरिएको सन्दर्भ उल्लेख गर्दै संविधानसँग असहमत रहेका पक्षहरूसँग पनि संवाद गरेर मूलधारको राजनीतिमा ल्याइएको स्मरण गरे।

‘अहिले सबै शक्ति मूलतः मूलधारको राजनीतिमा छन्। राष्ट्रिय राजनीति लोकतान्त्रिक मूलधारको एउटा ट्र्याकमा अगाडि बढेको छ,’ प्रधानमन्त्री ओलीले भने।

आफूहरू मानवतावाद र विश्वशान्तिका पक्षमा रहेको र जलवायु परिवर्तनको असरप्रति सजग हुँदै वातावरणीय सुरक्षामा ध्यान दिएर छिट्टै सगरमाथा संवाद आयोजना गर्न लागिएको जानकारीसमेत उनले दिए।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएका अध्यादेश र विद्यमान कानुनमा गरिएको संशोधनको आवश्यकताबारे प्रकाश पारेका थिए।  

यसैगरी नेकपा एमालेले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन भूमिका खेल्न आफ्ना सांसदलाई निर्देशन दिएको जनाएको छ। आज नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दलको बैठकले यही माघ १८ गतेदेखि सुरु हुने अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने दुवै सदनका सांंसदलाई निर्देशन दिएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। बैठकपछि प्रमुख सचेतक बर्तौलाले अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीले सबै सांसदलाई सक्रियपूर्वक भाग लिन निर्देशन दिइएको बताए।

उनले नेपाली कांग्रेस र एमालेको साझा प्रयत्नपछि अध्यादेश ल्याइएकाले सोही अनुसार संसद्बाट पारित गरिने बताए। संसद्लाई छलेर नभई संसद् सञ्चालनमा नरहेका बेला अध्यादेश ल्याइएको उल्लेख गर्दै बर्तौलाले यसमा सबैको समर्थन रहेको दाबी गरे। ‘संसद्को बैठक आह्वान गरेको बेला अध्यादेश ल्याइएको होइन, संसद् अधिवेशन सञ्चालन नभएका बेला ल्याइएको हो,’ उनले भने, ‘संसद् सञ्चालनमा नरहेका बेला अध्यादेश ल्याउने कुरा संविधानमा उल्लेख छ। सोहीअनुसार अध्यादेश ल्याइएकाले यो स्वाभाविक हो।’

प्रकाशित: १६ माघ २०८१ ११:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App