मोरङमा मतदाताको गोपनीयता भङ्ग हुने गरी ‘कसलाई मतदान गर्ने?’ भनी प्रश्न सोध्न निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालयले रोक लगाएको छ।
मंगलबार एक सूचना जारी गर्दै कार्यालयले मतदाताको व्यक्तिगत गोपनीयतामा प्रतिकूल असर पर्ने गरी प्रश्न नगर्न सचेत गराएको हो।
केही अनलाइन सञ्चार माध्यम तथा व्यक्तिहरूले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई कुन दल, उम्मेदवार वा चुनाव चिह्नमा मतदान गर्नुहुन्छ ? भनी सोध्ने गरेको पाइएकाले यस्तो कार्य नगर्न निर्देशन दिइएको छ।
यस्ता गतिविधिले मतदाताको गोपनीयताको हक उल्लंघन गर्ने कार्यालयको ठहर छ।
मोरङका निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा जारी सूचनामा भनिएको छ, ‘सूचना प्रकाशित भएपछि पनि कोही कसैबाट यस प्रकारको कार्य भएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।’
उक्त कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लंघनको कसुर हुने समेत सूचनामा उल्लेख छ।

प्रकाशित: २० माघ २०८२ २२:२१ मंगलबार





