राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको आर्थिक तथा सामाजिक विकासमा विदेशमा रहेका नेपालीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।
जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलले टोकियोस्थित नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै नेपाली समुदायलाई स्वदेशको समृद्धिमा सहभागी हुन आह्वान गरेका हुन्।
राष्ट्रपति पौडेलले भने, ‘विदेशमा आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधिलाई स्वदेशमा प्रयोग गरी समुन्नत नेपालको सपना साकार पार्न तपाईंहरूबाट थप योगदान पुग्ने मैले अपेक्षा गरेको छु।’
उनले जापानमा विभिन्न पेशा र व्यवसायमा आबद्ध नेपालीहरूको हित र समस्या समाधानका लागि नेपाल सरकार सदैव प्रतिबद्ध रहेको विश्वास दिलाए।
मुलुकको वर्तमान अवस्थाबारे चर्चा गर्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामार्फत दिगो शान्ति, सुशासन र समृद्धिको आकाङ्क्षा पूरा गर्न सरकार उच्च गतिमा अघि बढ्नुपर्नेमा जोड दिए।
राज्य सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र विधिको शासनलाई केन्द्रमा राखेर जनअपेक्षा अनुसार सेवा प्रवाह हुनुपर्ने उनको धारणा थियो।
‘नेपाली युवा पुस्ताले सुशासनको मागलाई प्रखर रूपमा उठाएका छन्,’ उनले भने, ‘यसै अनुरूप आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनले मुलुकमा राजनीतिक स्थायित्व र विकासका नयाँ सम्भावनाहरू खोल्ने विश्वास लिएको छु।’
उनले उक्त निर्वाचन सफल बनाउन विदेशमा रहेका नेपालीहरूलाई आ-आफ्नो तर्फबाट भूमिका निर्वाह गर्न समेत आग्रह गरिन्।
औद्योगिक विकास, कृषि, जलविद्युत र पूर्वाधारका क्षेत्रमा जापानको आधुनिक प्रविधि र अनुभवबाट नेपाल लाभान्वित हुन चाहेको उनको भनाइ थियो।
उनले थपे, ‘नेपालमा वैदेशिक लगानीका लागि कानुनी र संस्थागत सुधार गरिएका छन्। जापानी लगानीकर्ताहरूलाई सुरक्षित व्यावसायिक वातावरणको प्रत्याभूति दिन हामी प्रतिबद्ध छौं। यो सन्देश यहाँका लगानीकर्तामाझ पुर्याउन म तपाईंहरूलाई आग्रह गर्दछु।’
नेपाल र जापानबीच बुद्धको दर्शन र शिक्षाले गहिरो सांस्कृतिक सम्बन्ध जोडेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले जापानी पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्न नेपाली समुदायलाई अनौपचारिक राजदूतको रूपमा काम गर्न अनुरोध गरे।
नेपाली समुदायको पौरख, इमान र एकताले जापानमा नेपालको छवि उच्च बनाएको भन्दै उनले प्रशंसा समेत गरे।
प्रकाशित: २० माघ २०८२ २२:३५ मंगलबार





-600x400.jpg)