प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सीमा जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई समन्वय गर्न निर्देशन दिएको छ।
मंगलबार गृह मन्त्रालयले सीमा जोडिएका जिल्लाका प्रजिअले भारत र चीनसँगका समकक्षीसँग समन्वय गर्न निर्देशन दिएको हो।
गृह सचिव राजकुमार श्रेष्ठले प्रजिअहरूसँग जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ को कार्यान्वयन, निर्वाचन आचारसंहिताको कार्यान्वयन, मतदानस्थलको अनुगमन, मतदानस्थलमा खटिने निर्वाचन प्रहरी, कर्मचारी, आवश्यक सवारीसाधन र मतपेटिका ढुवानीलगायत विषयमा छलफल गर्दै यस्तो निर्देशन दिएका थिए।
बैठकमा सीमा सुरक्षामा उच्च निगरानी गर्ने, छिमेकी मुलुकका समकक्षीसँग आवश्यक समन्वयात्मक बैठक गर्ने, धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्ने, होली पर्वको समयमा उच्च सतर्कता अपनाउने, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्ने, जिल्ला सुरक्षा समितिलाई दिएको निर्देशनहरूको प्रभावकारी कार्यान्वयन गर्नेलगायत विषयमा गहन छलफल गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
प्रकाशित: २० माघ २०८२ २२:०५ मंगलबार





