नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पश्चिम नेपालमा तीन दिन रहे । सुर्खेत, बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रुपन्देहीमा उनले विभिन्न खबरदारी कार्यक्रममा मात्र सहभागी भएनन् । जनभेटघाटसँगै दाहाल सर्वाेच्च कमान्डर हुँदा सुरु भएको जनयुद्धका सहिद परिवारको घरदैलोसम्म पुगे । त्यहाँ चकट्टीमा पलेटी कसेर बसे । उनीहरूसँगै खाना खाए ।
माओवादीले भन्दै आएको वर्ग–समुदाय र नेकपा माओवादी केन्द्रबिचको खाडल परेको दुरी थियो, त्यसलाई पुर्ने माध्यम तीन दिने भ्रमण बनेको दाहालको सचिवालयले जनाएको छ । माघ १० गतेदेखि १३ गतेसम्म तीन दिन उनी पश्चिम नेपालमा रहे । यहाँ विशाल जनसभा, प्रशिक्षण, विभिन्न स्वरूपका नेता तथा कार्यकर्ता र स्थानीय जनसमुदायसँगका उत्साहपूर्ण भेटघाटमा दाहाल सहभागी भए । यसले थप ऊर्जा प्राप्त भएको दाहालले सामाजिक सञ्जालमा व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘पश्चिम नेपालमा पुग्दा सहिद तथा बेपत्ता परिवार र घाइते, अपांग योद्धाहरूसँगको साक्षात्कार भ्रमण विशेष रह्यो । बाँकेस्थित खजुराको धवलागिरि, दाङ तुलसीपुरस्थित बटोलपुर र घोराही झिगौरामा सहिद परिवारको घर आँगनमा बसेर सहिद परिवारले नै तयार पारेको मौलिक परिकार परिवारजनसँगै खाँदै उहाँहरुको दुःख, पीडा सुन्ने र सहिद सन्ततिसँग भेटघाट गर्ने महत्त्वपूर्ण अवसर प्राप्त भयो । विगतको गहिरो आत्मसमीक्षा गर्दै पुनः आफ्नै वर्गमा फर्कन पार्टीले लिएको सङ्कल्पको यो व्यवहारिक थालनीको रुपमा लिएको छु ।’ उनको यस प्रतिक्रियाले नेकपा माओवादी केन्द्र र उसले भन्दै आएको वर्गबिचको दुरी केही टाढा भएको आङ्कलन गर्न सकिन्छ । यो विषय पछिल्लो समय बसेको नेकपा माओवादी केन्द्रको बैठकमा समेत बहस भएको थियो ।
सोहीअनुसार फागुनदेखि ६ महिनासम्मका लागि जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त अभियान पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गसँग जोडिएका जिल्लाहरूमा हुने छ भने त्यसपछि वैशाखदेखि मध्य पहाड र हिमाली जिल्लामा माओवादीले सोही कार्यक्रम गर्ने तयारी गरेको छ । यो कार्यक्रम सुरु नहुँदै नेकपा माओवादीका अध्यक्ष दाहाल नै दौडाहा सुरु गरेपछि अभियानले सफलता प्राप्त गर्ने माओवादीको अपेक्षा छ ।
पछिल्लो पटक सरकारबाट विपक्षी दलको बेन्चमा फर्किएपछि दाहालले भनेका थिए, ‘अब वर्ग–समुदायमा फर्किन्छौँ । जनतासँग नियमित भेटघाटमा हुन्छौँ ।’ पहिलो संविधानसभामा जनताले ठूलो विश्वास गर्दा ठूलो दल भएको र त्यसपछि वर्ग–समुदायसँग माओवादीको दुरी बढ्दा जनतामा अविश्वास पैदा भएको थियो । जसले पछिल्ला चुनावमा माओवादीले शक्ति आर्जनमा ठूलो क्षति व्यहो¥यो । पछिल्लो पटक खुम्चिँदा पनि माओवादी सत्तामा पुग्यो र सत्तामा हुँदा सुशासन कायमसँगै भ्रष्टाचार विरुद्ध सक्रिय भएर लाग्यो जसले, बिचौलियालाई समस्या हुँदा बिचौलियाले सरकार ढालेर आफू अनुकूल सरकार बनाएको उनले भ्रमणका क्रममा कयौंपटक व्यक्त गरेका प्रचण्डका सचिवालयका एक सदस्यले बताए ।
‘पार्टीले शक्ति गुमाउनुको मूल्याङ्कन मात्र होइन आत्मालोचना पनि गरिसकेको छ । अब पार्टी वर्ग–समुदायप्रति केन्द्रित हुन्छ,’ उनले भने, ‘प्रचण्डको पश्चिम भ्रमण कुनै पार्टीको आधिकारिक अभियान नभई नेतृत्व वर्ग–समुदायसम्म पुग्न विभिन्न कार्यक्रममार्फत पश्चिम आउनु भएको हो ।’ दाहालसँग पश्चिमका शक्तिशाली भनिने नेताहरु भने थिएनन् । जहाँजहाँ उनी जान्छन् त्यहाँ त्यहाँका नेताहरुको सहभागिता थियो ।
वर्ग–समुदायप्रति बढेको दुरी घटाउन मद्दत पु¥याउनुसँगै प्रचण्डको पश्चिम भ्रमणले सहिद, बेपत्ता र घाइते अपांग परिवारसँग पैदा हुँदै गएको अविश्वासलाई विश्वासमा बदलेको ती सचिवालय सदस्यले बताए । ‘माओवादी सत्तामा पुग्दा आफूहरूलाई भुल्दै आएको भन्दै सहिद, बेपत्ता, घाइते तथा अपांग परिवारले अविश्वास गर्न थाल्नु भएको थियो,’ उनले भने, ‘यो भेटघाटले फेरि दाहाललाई एक पटक विश्वास गर्ने आश्वासन दिनु भएको छ ।’
वर्ग–समुदायमा दाहालको आगमनले उत्साह छाएको उनको भनाइ छ । वर्ग–समुदायबिचमा जाने दाहालले उद्घोष गरेसँगै अब उनी जनतामाझ नै हुने बताइएको छ । जनतामाझ पुगेर पुनः एक पटक विश्वास लिने र माआवादीलाई शक्तिमा पु¥याउन विश्वास माओवादीको छ । माओवादीलाई वर्ग–समुदायसँग जोड्ने कसीको रुपमा दाहालको भ्रमणलाई लिइएको छ । भ्रमणका क्रममा जनताको उत्साहपूर्ण साथ पाएका प्रचण्डले २०८४ को चुनावमा माओवादीलाई विश्वास गर्न अपिल गरेका छन् । सम्पन्न उपनिर्वाचनमा माओवादीले पाएको मत वृद्धि भएकाले अब जनतामाझ जाँदा २०८४ मा बहुमत प्राप्त गर्ने र त्यो नभए पहिलो पार्टी बन्ने दाहालको ठम्याइ छ ।
पश्चिम माओवादीको बलियो क्षेत्र मानिन्छ । सहिद परिवारको घरमा पुगेर खाना खाँदा उनी भावुकसमेत बनेका थिए । सत्तामा पुग्दा वर्ग–समुदायसँग दुरी टाढा हुँदा र पार्टीभित्रको फुटले पार्टी कमजोर भएको दाहालको ठम्याइ छ । यसलाई उनले अब सच्याउँदै र विभाजन भएर गएका नेता तथा कार्यकर्तासँग एकता गर्दै पुनः शक्ति आर्जन गर्ने बताइएको छ । सत्तामा पुग्दा शक्तिको उन्माद चढेर जनतालाई भुल्ने र शक्तिविहीन हुँदा जनता पुकार्ने काम नगर्न जनताले दाहाललाई सुझाएका छन् ।
प्रकाशित: १५ माघ २०८१ १७:३७ मंगलबार