संघीय संसदको पहिलो बैठक आगामी शुक्रबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद भवनमा बस्दै छ। प्रतिनिधिसभाको पहिलो बैठकलाई प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका शीर्ष नेताले सम्बोधन गर्ने तयारी रहेको संसद सचिवालय स्रोतले बतायो ।
कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि पहिलो बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए। अहिलेसम्मको तयारीमा शीर्ष नेताले सम्बोधन गर्ने भन्ने नै छ, संसद अधिवेशन बोलाउन प्रतिपक्षले नै माग गरेका थिए, त्यसैले संसद बैठक अवरुद्ध नहुने विश्वासमा सत्तापक्ष रहेको कांग्रेस प्रमुख सचेतक घिमिरेको भनाइ छ।
गत भदौ ३१ गते अन्त्य भएको संसदको बर्खे अधिवेशन र अब माघ १८ गते बस्न लागेको हिउँदे अधिवेशनको अन्तर झन्डै पाँच महिना पुग्न लागेकाले पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्न लागेको संसद सचिवालयको बुझाइ छ ।
२०७९ सालको आम निर्वाचनपछि बसेको संसदको पहिलो बैठकमा तत्कालीन प्रधानमन्त्री दाहालसहित प्रमुख दलका शीर्ष नेताले सम्बोधन गरेका थिए। त्यसपछि बसेको अधिवेशनहरूको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गरेका छैनन्।
पाँचौं अधिवेशनका रूपमा रहेको आगामी शुक्रबार सुरु हुने हिउँदे अधिवेशनमा भने प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्न लागेका छन्। ‘यसबाट लामो अन्तरमा संसद बसेकाले शीर्ष नेताले सम्बोधन गर्न लागेको हो भन्ने आधार देखिन्छ’, सचिवालयका एक अधिकारीले भने।
हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनेबारे सभामुख देवराज घिमिरेले आइतबार सत्तापक्षका प्रमुख सचेतकहरू र प्रमुख प्रतिपक्ष र प्रतिपक्षका प्रमुख सचेतकसँग छलफल गरेका थिए। बिहान ११ बजे सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतक र दिउँसो दुई बजे प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका प्रमुख सचेतकसँग छलफल गरेका सभामुखले सोमबार ११ बजे सत्तापक्ष र प्रतिपक्षसहित पाँच दलका मुख्य र प्रमुख सचेतकसँग छलफल गर्ने भएका छन् ।
सभामुखले मंगलबार (१५ गते) एक बजे कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका छन्। बैठकले १८ गतेको कार्यसूचीको अन्तिम निर्णय गर्ने छ। सभामुखले विधेयक रहेका समितिहरूका सभापतिसँग पनि विधेयकको अवस्थाबारे छलफल गरिरहेका छन्।
सरकारले बिजनेस दिनुपर्ने भएकाले यस अधिवेशनमा समितिमा रहेका अधिकांश विधेयक पारित गर्ने लक्ष्य राखिएको सत्तारुढ दलका नेताको भनाइ छ भने सभामुखसँगको भेटमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्र र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिमा विधेयक विचाराधीन रहेको अवस्थामा अध्यादेश ल्याइएको, सत्तापक्षले नै समितिमा विधेयक अड्काएको जस्ता कुरा उठाएका थिए। संसदको पहिलो बैठकमा सरकारले ल्याएका ६ अध्यादेश पेस हुनेछन् भने समितिबाट पारित विधेयक अन्य बैठकमा पेस गरिने छ ।
प्रकाशित: १४ माघ २०८१ ०८:३० सोमबार