हावाहुरीले पोलहरू ढालेपछि नेपालगन्ज क्षेत्रको विद्युत् सेवा अवरुद्ध भएको छ।
नेपालगन्जमा हिजो (बुधबार) राति करिब ९ बजे ठुलो हावाहुरीसँगै वर्षा भएको थियो। विद्युत् सेवा अवरुद्ध हुँदा बिहीबार रातभर नेपालगन्ज क्षेत्र अन्धकार बन्यो। हावाहुरीले जिल्लाका विभिन्न स्थानमा घर तथा टहरामा पनि क्षति पुर्याएको छ। अधिकांश ठाउँमा टिनका छाना पनि उडाएको छ। यस्तै किसानले भित्र्याउन लागेको गहुँ, मसुरो, अरहर लगायत बालीनालीमा पनि हावाहुरी र वर्षाले असर गरेको छ।

हावाहुरी र वर्षा अझै पूर्ण रूपमा रोकिएको छैन। हावाहुरी र वर्षाका कारण हवाई सेवा समेत प्रभावित बन्न पुगेको छ। हावाहुरी र वर्षा नरोकिँदा विद्युत् सेवा सञ्चालन गर्न कठिनाइ भएको छ। हावाहुरीले ३३ केभी प्रसारण लाइनको पोल तथा टावरहरूमा क्षति पुगेकाले विद्युत् सेवा अवरुद्ध हुन पुगेको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ।
केन्द्रले सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो। 'नेपालगन्ज लगायतका विभिन्न स्थानमा हाम्रा विद्युत् सेवाहरू प्रभावित हुन गएको जानकारी गराउन चाहन्छौँ, सेवा प्रवाहमा असर पुग्न नदिन हर सम्भव प्रयास पनि जारी रहेको छ,' केन्द्रद्वारा जारी सूचनामा उल्लेख छ।
प्रकाशित: २८ चैत्र २०८१ ११:३९ बिहीबार





