पैँतिस वर्षअघिको कुरा हो। अभिषेक जागिर खान काठमाण्डौ पुग्यो। खरिदार तहमा पुग्दा उसको विवाह ऋचासँग भयो। जागिरे भएकाले शिवरामले पनि आनाकानी नगरी छोरी दिए । लगत्तै छोरीका नाममा चार आना घडेरी किनिदिए।
बिहाको डेढ दशक बित्यो तर अभिषेकले घर बनाउन सकेन। अब भने कस्तालाई छोरी दिएछु भन्दै शिवराम पछुताउन थाले। उनी हाकाहाकी भन्थे ‘गर्नेले सानै जागिरबाट ठूलो प्रगति गरेका छन्। हुतिहारा!’
अभिषेकको मनमा ससूरा शिवरामको वचन काँढा बनेर बिझ्थ्यो।
अभिशेष बसेको टोल–छिमेकमा हरिश्चन्द्रको बङ्गला थियो। दुई रोपनी क्षेत्रफलभित्र बनेको उक्त बङ्गला बेलायती वास्तुकलाविदले तयार पारेको डिजाइन अनुसार निर्माण गरिएको थियो। दश वर्षअघि रित्तो हात काठमाण्डौ छिरेका हरिश्चन्द्र यतिबेलासम्म सबैको उदाहरण योग्य बनिसकेका थिए। हरेक अभिभावक दशैंको टीकोमा छोराछोरीलाई आशिर्वाद दिंदै भन्थे ‘हरिश्चन्द्रले जस्तै प्रगति गरेस!’
अनिवार्य अवकास हुन केही बर्ष बाँकि थियो। धन कमाउन नसकेको तीव्र मानसिक दवावमा रहेको अभिषेकले भएभरका पैत्रिक संपत्ति बिक्रिग¥यो। सञ्चय कोषबाट कर्जा निकाल्यो । अनि काठमाण्डुको एक कुनामा साँढे दुई तले घर ठड्यायो।
घर निर्माण गरेको एक वर्षपछिको कुरा हो, उज्यालो राम्ररी भैसकेको थिएन । प्रहरी वर्दिधारी र सादा पोशाकका केही व्यक्ति अभिषेकको घरको ढोका ढक्ढक्याउन आइपुगे । अभिषेक भ्रष्टाचार अभियोगमा पक्राउ प¥योे । त्यसको केही दिनपछि अक्तियार दुरुपयोग अनुसन्धान आयोगले ऊबिरुद्ध भ्रष्टाचार मुद्दा दायर ग¥यो तर अभियोग प्रमाणित हुन नसक्दा अभिशेषले सफाई पायो।
अभिशेषले विशेष अदालतबाट त सफाइ पायो तर छरछिमेकी र जोरिपारीका नजरबाट सफाइ पाउन सकेन ! ‘धन भनेपछि भगवानको तीन नेत्र ! अभिशेषको सफाई कालो धनको करामत हो ।’ उनीहरु भन्थे । छरछिमेकीहरु उसंग जम्काभेट हुँदा पनि साईत बिग्रन्छ भन्दै देखेको नदेख्यै गरी हिँड्थे । अभिशेषलाई डिप्रेसनको बिमारीले गाँज्यो।
समय बित्दै गयो । एकातिर सामाजिक बहिस्करण, अर्कोतर्फ डिप्रेसन ! उसले घर बेची मुग्लान पस्ने निर्णय लियो । अनि एक दिन, झिसमिसे बिहानीमा सपरिवार भारी मनका साथ घरबाट निस्कियो । ऊ सुनौली जाने बसमा चढ्यो । त्यति बेला नेपालमा संसदीय निर्वाचनको आँधी बेजोडले सुसाएको थियो । सुनौली नाका पार गर्ने क्रममा उसका आँखा भित्तामा टाँसिएको हरिश्चन्द्रको चुनाव प्रचार पोष्टरमाथि प¥यो।
‘हरिश्चन्द्र ! अर्थात नेपाली जनताको धुकधुकी। देशका भाग्य बिधाता! मुलुकका भावि प्रधानमन्त्री !’ तश्वीरको ठीक मुनि लेखिएको थियो।
प्रकाशित: १३ श्रावण २०८३ ०९:३३ बुधबार





