राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोबिता गौतमले राजनीतिक नेताहरूलाई न्यूनतम राजनीतिक संस्कार कायम राख्न अनुरोध गरेकी छिन्। आइतबार सामाजिक सञ्जालमा एक स्टाटस राख्दै उनले यस्तो अनुरोध गरेकी हुन्। उनले रास्वपा सभापति रवि लामिछानेलाई अदालतको फैसलाअघि नै शीर्ष दलका नेताहरू अपराधी करार दिलाउन तल्लिन भएर लागेको भन्दै यस्तो अनुरोध गरेकी हुन्।
उनले भनेकी छिन्, ‘एकातिर सरकारले रवि लामिछानेमाथि दुषित मनसाय राखेर अभियोजन गरिराखेको छ। अर्कोतिर त्यतिगर्दा पनि नपुगेर सरकारमा रहेका दलका शीर्ष नेताहरूले खुल्लमखुल्ला भाषणहरूमा रवि लामिछानेलाई अदालतले फैसला गर्नु अघि नै अपराधी करार गरेर समाजमा झुठो भाष्य स्थापित गर्न भरमग्दुर प्रयास गरिरहनुभएको छ। अभियोग त दुराशयपूर्ण थियो नै, हुँदाहुँदा अभियोग नै अन्तिम सत्य हो भनेजसरी स्थापित गर्ने प्रयास भइरहेको छ।’ रास्वपा सांसद समेत रहेकी उनले सत्ताको शक्तिले अदालतलाई यस्तो–यस्तो गर भन्ने सन्देश दिन खोजेको भान भएको आरोप पनि लगाएकी छिन्।
उनले भनेकी थप्दै भनेकी छिन्, ‘यो प्रवृत्ति रोक्नुहोस्। बारम्बार राज्यसत्तामा रहेका र अहिले पनि राज्य सञ्चालनको तालाचाबी हातमा बोकेर हिँडिरहनुभएका तपाईंहरूलाई यसको गरेको पटक्कै सुहाएको छैन। देशमा सुशासन र कानुनको राज स्थापित गर्छौ भन्नेहरूले भाषणबाट फैसला र आदेश गरेको सुहाउँदै सुहाएन।’ गौतमले स्वच्छ न्याय प्रभाव पार्नेगरि आएका शीर्ष नेताहरूका अभिव्यक्तिप्रति राज्यका सम्बन्धी निकायहरूको गम्भीर ध्यान जानुपर्ने पनि बताएकी छिन्।
प्रकाशित: १३ माघ २०८१ १३:१५ आइतबार