१५ माघ २०८१ मंगलबार
image/svg+xml
समाज

एकता, सदभाव र भातृत्व कायम राख्न ताप्लेजुङ प्रशासनको आग्रह

जिल्ला सुरक्षा समिति ताप्लेजुङले एकता, सदभाव र सदियौंदेखि कायम रहेको भातृत्वको भावना जीवन्त राख्ने कार्यमा सहयोग गर्न सरोकारवाला सबैमा अनुरोध गरेको छ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले विज्ञप्ति जारी गर्दै एकता, सदभाव र सदियौंदेखि कायम रहेको भातृत्वको भावना जीवन्त राख्ने कार्यमा जिल्लामा क्रियाशील सबै राजनीतिक दल, जनप्रतिनिधि, संघसंस्था, नागरिक समाज र सरोकारवालाई अनुरोध गरिएको छ। पाथीभरा क्षेत्रमा माघ १२ गते भएको झडपका सन्दर्भमा स्थानीय प्रशासनका तर्फबाट विज्ञप्ति जारी गर्दै सुरक्षा समितिले घटनाका बारेमा आफ्नो धारणा सार्वजनिक गरेको हो।

प्रजिअ शर्माले जारी गरेको विज्ञप्तिमा जिल्लाको शान्ति सुव्यवस्था कायम गर्ने दिशामा सदाझैं आम जिल्लावासीको सहयोगको अपेक्षा गरिएको छ। नागरिकको जीउधन र नागरिकको स्वतन्त्रताको संरक्षण गर्ने कार्यमा स्थानीय प्रशासन थप सजग, सर्तक र प्रतिबद्ध भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। स्थानीय प्रशासनले पाथीभरा क्षेत्रमा भएको झडपका क्रममा घाइते प्रहरी कर्मचारी र प्रदर्शनकारीका तर्फबाट घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।

उक्त घटनामा प्रहरीतर्फ २१ जना घाइते भएकोमा १४ जना प्राथमिक उपचार पश्चात आराम गरिरहेको र प्रहरी निरीक्षकसहित ७ प्रहरी कर्मचारीको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको स्थानीय प्रशासनले विज्ञप्तिमा भनेको छ। केबलकार निर्माणको विरोधमा रहेका घाइते ४ जनाको प्राथमिक उपचारपछि थप उपचार गर्नुपर्ने तीन जनाको नोवेल अस्पताल विराटनगर हुँदै त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा थप उपचार भइरहेको समेत प्रशासनले जनाएको छ। स्थानीय प्रशासनले विज्ञप्तिमा विगतदेखिको अवस्था बताउँदै माघ १२ गते शनिबार एरिया डोमिनेसनको क्रममा गस्ती गर्दै अघि बढेको नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त गस्तीका कमाण्डर प्रहरी निरीक्षकसहितको टोलीमाथि केबलकार निर्माणको विरोध गरिरहेको समूहबाट आक्रमण सुरु भएपछि आत्मरक्षाको अन्तिम विकल्पको रूपमा फायर खोलिएको दाबी गरेको छ।

केबलकार निर्माणको विरोध गरिरहेको पक्षले भने शान्तिपूर्ण आन्दोलनको तयारी भइरहेको समयमा सुरक्षाकर्मीले अन्धाधुन्ध गोली, लाठी र मुङ्ग्री बर्साएको दाबी गरेको छ।

प्रकाशित: १४ माघ २०८१ १०:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App