नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिष्पर्धा गर्ने बताएका छन्।
सोमबार काठमाडौँमा नेपाली कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौँ महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले आगामी निर्वाचन एक्लै लड्ने र बहुमत ल्याउने गरेका छन्।
उनले भने, ‘हामी आगामी चुनाव एक्लै फेस गर्दछौँ। एक्लै जान्छौँ चुनावमा। एक्लै फेस गरेर जाँदा पनि हार्ने गरी होइन, बहुमत ल्याउने गरी जाने हो। त्यसको तयारीको प्रारम्भ हो यो अहिलेको अभियान।’
उनले थप्दै भने, ‘देशको विकासमा हामीले जे जति काम गरेका छौँ। गरेका राम्रा कुराहरू भन्दै जानुपर्छ, भन्न छोड्नुहुन्न। तर यो पनि होइन की पर्याप्त गरिसक्यौँ भन्ने होइन। जनताका अधिकार पूरा कार्यान्वयन गर्न धेरै काम बाँकी छ।’
नेता सिटौलाले नेपाली कांग्रेस पार्टीले गर्न नसके अरु कुनैपनि राजनीतिक दलले जनताको हितमा काम गर्न नसक्ने पनि स्पष्ट पारेका छन्। उनले अहिलेको अभियान ०८४ कै तयारीको प्रारम्भ भएको पनि उल्लेख गरेका छन्।
प्रकाशित: ८ पुस २०८१ १३:०० सोमबार