८ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि, छविसहित थप ४४ प्रतिवादी

सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा पनि मुद्दा, २८ करोड रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध करिब २८ करोड रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोपमा आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछानेविरुद्ध सरकारी वकिलको कार्यालय कास्कीले २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको दाबीसहित मुद्दा दर्ता गरेको हो। सरकारी वकिलको कार्यालय कास्कीले लामिछाने पत्नी निकिता पौडेलविरुद्ध पनि मुद्दा दायर गरेको छ।

कास्की प्रहरीले लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो। प्रहरीले उनीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरेको थियो। सहकारी ठगी मामिलामा प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय कास्कीले आइतबार लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो। लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ।

यसअघि सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा शुक्रबार गोर्खा मिडिया नेटर्वकका अध्यक्ष गीतेन्द्रबाबु राई (जिबी) सहित १९ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ। राई फरार छन्। लामिछाने पनि गोर्खा  मिडिया नेटवर्कका प्रबन्ध निर्देशक थिए। लामिछानेले सूर्यदर्शन सहकारीको तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ अपचलन गरेको भन्दै उनीविरुद्ध सोही रकमबराबर बिगो माग दाबी पनि गरिएको छ।  

त्यस्तै आइतबार नै मुद्दा दर्ता गरिएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन निर्देशक छविलाल जोशीविरुद्ध पाँच करोड २६ लाख ६५ हजार र दीपेशकुमार पुनविरुद्ध दुई करोड १४ लाख आठ हजार आठ सय रुपैयाँ बिगो दाबी गरिएको छ। दीपेश पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन्।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेकी पत्नी निकिता पौडेलसहित पाँचजनालाई सम्पत्ति जफतका लागि पनि प्रतिवादी बनाएको छ। यसरी प्रतिवादी बनाइएकामा पौडेल, पद्मा बन्जाडे जोशी, रोचक जोशी, राधा पछाईं र गीता पछाईं छन्। पद्मा छविलालकी पत्नी र रोचक छोरा हुन्। त्यस्तै राधा लीला पछाईंकी आमा हुन् भने गीता दिदी हुन्।

कसुरमा संलग्न नभए पनि बिगो दाबी गरिएका अभियुक्तका नजिकको आफन्त भएकाले सम्पत्ति जफतका लागि पौडेल, पदमा, रोचक, राधा र गीतालाई प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन्। उनले भनिन्, ‘उहाँहरू (पाँचजना) लाई दण्ड वा जरिवानाका लागि प्रतिवादी बनाइएको होइन, आरोपितहरूको आरोप प्रमाणित भएमा अभियोग अनुसारको सम्पत्ति जफतका लागि मात्र प्रतिवादी बनाइएको हो।’

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा दुई पटक गरी ६३ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। पहिलो मुद्दामा शुक्रबार १९ जना र आइतबार थप ४४ विरुद्ध मुद्दा दायर भएको हो। ६३ प्रतिवादीमध्ये ५० जना व्यक्ति, आठ कम्पनी छन्। पाँचजनालाई सम्पत्ति जफतका लागि मुद्दा दायर गरिएको हो। सूर्य दर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा प्रतिवादीसँग कुल एक अर्ब ५१ करोड ४० लाख १९ हजार रुपैयाँ बिगो दाबी गरिएको छ। सरकारी वकिलको कार्यालयले दर्ता गरेको प्रतिवेदनमा लामिछानेले सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लैजान आफ्नो संलग्नता नरहेको बयान दिएको उल्लेख छ। उनले सहकारीको रकम मिडियामा लैजाने कुरामा आफ्नो कुनै पनि संलग्नता नरहेको भन्दै सो रकम फिर्ता गर्ने जिम्मेवारी आफूको नभएको जिकिर गरेका छन्। उनले सहकारीबाट आफ्नो नाममा लिइएको भनिएको एक करोड रुपैयाँ बारे पनि संसदीय समितिलाई बयान दिन जाँदा मात्र थाहा पाएको बताएका छन्।  

अर्का प्रतिवादी पूर्वडिआइजीसमेत रहेका छविलाल जोशीले पनि गोर्खा मिडियामा सहकारीको पैसा लैजाने कार्यमा आफ्नो संलग्नता नरहेको बयान दिएका छन्। पैसा अध्यक्ष गितेन्द्रबाबु राईले ल्याएको तर कहाँबाट कसरी ल्याएको भन्नेबारे आफूलाई जानकारी नभएको बयान उनले दिएका छन्। उनले भनेका छन्, ‘पैसा कताबाट ल्याइयो भन्नेबारे जिबी र रविलाई थाहा होला।’ ल्याएको पैसा प्रबन्ध निर्देशक लामिछाने र कार्यकारी अध्यक्ष राईले खर्च गर्ने गरेको बयान उनले दिएका छन्।

प्रकाशित: ८ पुस २०८१ ०७:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App