नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापाले नयाँ टिम सार्वजनिक गरेसँगै त्यो दलप्रतिको आकर्षण ह्वात्तै बढेको छ। कांग्रेसका तत्कालीन महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा यो साता भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनले समग्रमा पुराना दलप्रतिको अरुचिलाई धेरै हदसम्म कम गर्न सफल भएको छ।
यी दल कहिल्यै सुध्रिँदैनन् भन्ने भाष्यलाई यसले परिवर्तन गरेको छ। स्वाभाविक रूपमा दलहरू परिवर्तन गर्ने यसका नेता तथा कार्यकर्ताले हो। दलहरूमा रहेको पुरानो नेतृत्वले बदलिन नचाहेको स्थितिमा गगन थापाहरू अघि आउनुको विकल्प थिएन। शेरबहादुर देउवाले दलको सभापतिको जिम्मेवारीबाट हट्ने उद्घोषका साथ कार्यवाहक सभापति तोकेका थिए।
सम्भवतः देउवाले दलबाट सम्मानित ढंगले जिम्मेवारी हस्तान्तरण गर्न चाहेका थिए। तर, देउवा नेतृत्वमा रहिरहनु स्वयं देउवाका निम्ति भन्दा पनि तिनलाई कुर्सीमा अड्याएर आफ्नो अभीष्ट पूरा गर्न चाहने पक्षको चाहना यसपटक प्रबल रह्यो। हाम्रो मुलुकमा कांग्रेस नै यस्तो दल हो, जसमा अरू सबै दलमा जान नचाहेर स्वतन्त्र रहेका व्यक्तिले पनि अन्ततः ‘लोकतान्त्रिक’ ठानेर यसैका उम्मेदवारलाई मत दिने हो।
यसकारण कांग्रेस भनेको यसमा आबद्धता नभएका कैयन् सर्वसाधारण मतदाताको पनि हो। जो स्वतन्त्र रहन चाहन्छन्, तिनले पनि आवश्यकता पर्दा वैयक्तिक स्वतन्त्रता र उदार लोकतान्त्रिक पद्धतिको पक्षधर कांग्रेसलाई मतदान गर्छन्। जसले आफूलाई बुझेर वामपन्थी राजनीतिबाट अलग्याउँछन्, तिनले पनि कांग्रेसलाई मतदात गर्छन्। कांग्रेस भनेको समाजवादबाट पनि प्रेरित दल हो।
तपाईंलाई मनपर्ने नेता को हो? भनेर कैयन् वाम पक्षधर नेता तथा लेखकलाई समेत सोध्दा जवाफ हुने गरेको छ-बिपी कोइराला। उनको प्रखर राजनीतिक अभ्यास, उनको साहित्यिक लेखन र मुलुकको राजनीतिक परिवर्तनका लागि जबजस्त हस्तक्षेप गरेका नेता बिपी हुन्। उनलाई जस्तै सम्मान पछिल्ला दिनमा पुष्पलाल, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी लगायतलाई दिन्छन्। यिनै महामना राजनीतिक व्यक्तिहरूको सत्प्रयासले आज मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था छ। त्यो व्यवस्थाले दिएको खुलापनमा रहेर सबैले अभ्यास गर्न पाएका छन्।
समकालीन राजनीतिमा कोही सर्वाधिक लोकप्रिय नेता छन् भने ती गगनकुमार थापा नै हुन्। उनको जादुयी व्यक्ति हुँदैनथ्यो भने काठमाडौं–४ बाट पटकपटक निर्वाचित हुने थिएनन्। आज गगन जहाँ जान्छन्, त्यता एउटा तरंग जागृत हुन्छ। उनकै समवयी, उनीभन्दा अघिल्लो पुस्ताका कैयन् व्यक्तिलाई गगनको यो लोकप्रियता मन पर्दैन। उनले आर्जन गरेको यो व्यक्तित्व ‘सामाजिक पुँजी’को अनुपम नमुना हो।
कैयन्लाई गगनले खर्च गरेर वा अन्य केही उपायबाट आफ्नो बनाए भन्ने लाग्न सक्छ। यथार्थमा त्यो होइन। एउटा चर्चित नेपाली उखानले भनेको छ, ‘दिएर आफ्नो र खौरिएर मसिनो हुँदैन।’
यथार्थ पनि यही हो। गगनले कसलाई कति दिएर आफ्नो गराउने हो र? वास्तवमा गगनलाई विद्यार्थी जीवनदेखि अहिलेसम्म देखिरहेका कैयन् व्यक्तिले उनको अनवरत प्रयासलाई स्वागत गरेका हुन्। उनीजस्ता कैयन् व्यक्ति मैदानमा छन्। ती सबैले कसैलाई पनि यसरी आकर्षण गर्न सक्दैन।
हिजो लोकतान्त्रिक गणतन्त्रका निम्ति गगन भिडिरहँदा आफ्नै दलभित्र कारबाहीको सिकार भएका हुन्। उनको जीवनमा संघर्ष एकपछि अर्को गरी आएका छन्। कैयन्लाई लाग्दो हो- हिजोको फुच्चेले आज हाम्रो भाग खोसिदियो। यथार्थमा गगनले अहिलेसम्म आफूलाई तयार पार्दै, संघर्ष गर्दै र खारिँदै आउनुपरेको छ। अघिल्लो पटक महामन्त्री निर्वाचित हुँदै गर्दा उनले ल्याएको मत लोभलाग्दो मात्र थिएन, उनीप्रतिका अनेकन् भावी सम्भावनाले पनि ढोका खोलेका थिए।
पछिल्ला दिनमा गगनलाई दलको नेतृत्वमा हेर्न चाहनेको ठुलो संख्या छ। गगनप्रतिको कत्रो आकर्षण रहेछ भन्ने बुझ्न भृकुटीमण्डपमा ओर्लिएको भिडलाई हेरे हुन्छ। आफ्नै दल भित्रका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको साथ र सहयोग रहेको देखियो। पुसको अन्तिम साताको चिसो काठमाडौंमा भेला भएका ती महाधिवेशन प्रतिनिधिले दलको संस्थापन पक्षबाट आएका प्रलोभन र धम्कीप्रति खासै चासो राखेको देखिएन।
कांग्रेसको तत्कालीन संस्थापन पक्षले विभिन्न बहानामा महाधिवेशन सार्न चाह्यो। खासमा निर्वाचनअघि आफैंले टिकट वितरण गर्ने, निर्वाचन जित्नका निम्ति एमाले र अन्य दलसँग गठबन्धन गर्ने र निर्वाचनपछि आफूले चाहे अनुसार पार्टीमा पजनी गर्ने उद्देश्य रहेको बुझ्न सकिन्छ। विद्रोह गर्ने गगन पक्षले यति ठुलो विशेष महाधिवेशन आयोजना गर्न सक्छ भने कांग्रेस संस्थापनले माग बमोजिम नियमित महाधिवेशन गर्न नसक्ने भन्ने थिएन।
यथार्थमा कांग्रेसभित्रको लोकतन्त्रीकरण प्रक्रिया रोक्नुपरेकै कारण अनेकन् तिकडम गरिएको थियो। आजको दिनमा अनलाइन माध्यमबाटै दलको क्रियाशील सदस्यतालाई अद्यावधिक गर्न नसकिने थिएन तर यसैलाई बहाना बनाएर महाधिवेशनलाई टाल्ने काम भयो। निर्वाचनको निहुँ बनाएर विद्रोही पक्षलाई रोक्नुबाहेक अरू उद्देश्य थिएन।
गत भदौ २३ को जेनजी विद्रोह र त्यसको भोलिपल्ट भदौ २४ मा भएको तोडफोड, आगजनी र लुटपाटपछाडि सबैजसो दललाई सुध्रिनका निम्ति दबाब रहेकै हो। दलको पुस्तान्तरणको मुद्दा सशक्त रूपमा उठेको हो। कांग्रेसको अहिलेको विद्रोह नभई निर्वाचनमा जान खोजेको भए त्यसले गम्भीर समस्या उत्पन्न हुन्थ्यो। युवा पुस्तामा कांग्रेसप्रतिको कुनै आकर्षण हुने थिएन। यथार्थमा कांग्रेसप्रति यसपटकको गगन–विश्व विद्रोहले आम आकर्षण पैदा गरेको छ।
प्रत्येक समयमा आवश्यक पर्दा विद्रोह गर्न तत्पर नेता तथा कार्यकर्ता भएको दलले मात्र यथार्थमा धेरैलाई आकर्षित गर्न सक्छ। कांग्रेस अहिलेसम्म पनि लोकप्रिय हुनुमा गगनहरूजस्तै नेता तथा कार्यकर्ता प्रत्येक समयमा जन्मिनु हो।
बिपी कोइरालाले नेतात्रयका रूपमा कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको हातमा दल सुम्पिएका हुन्। उनीहरूले जनआन्दोलनको बलमा पञ्चायतलाई घुँडा टेकाएपछि मुलुकमा प्रजातन्त्रको उज्यालो बिहानी आएको हो। प्रजातन्त्र आएपछि गणेशमान सिंहले प्रधानमन्त्री बन्न आएको आग्रहलाई अस्वीकार गरेर कृष्णप्रसाद भट्टराईलाई अघि सारे। भट्टराईकै सुझबुझका कारण नेपालको संविधान २०४७ जारी हुन सकेको हो।
अहिलेको विषम परिस्थितिमा देउवामाथि निकै ठुलो अवसर रहेको हो। आफ्नो दलका सम्भावनायुक्त नेताहरूलाई महाधिवेशन गराएर सत्ता सुम्पिन उनलाई केहीले रोकेको थिएन। उनलाई केवल ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्ने भनेर गरिएको भविष्यवाणी पूरा गर्नु थियो। एक वा दुई पटक प्रधानमन्त्री भइसकेपछि निरन्तर त्यसकै निम्ति लागिरहनुपर्ने थिएन। हाम्रो लोकतान्त्रिक व्यवस्थालाई नै बदनाम गर्ने गरी निरन्तर सत्ताको ‘म्युजिकल चेयर’ले आक्रान्त पारेको हो।
वास्तवमा अहिले गगनको उदयले मुलुकको राजनीतिक परिदृश्यमा निकै रोचक स्थिति देखिएको छ। मुलुकको शासन व्यवस्था सुधार गर्ने मात्र हो भने लोकतन्त्रले निकै ठुलो आशा र भरोसा दिन सक्छ। त्यसमा पनि आजको दिनमा लोकरिझ्याइँका आधारमा आउने राजनीतिक नेतृत्वभन्दा गगनजस्ता मुलुकको परिस्थितिमा खारिएका र अनुभवी व्यक्तिबाट आशा गर्न सकिने ठाउँ छ।
कांग्रेसमा भएको विद्रोहमार्फत आएका गगनले आफ्ना विषयवस्तुलाई राखिरहँदा ती स्पष्ट र बाटो देखाउने किसिमका छन्। अमेरिकामा बाराक ओबामा नेतृत्वमा आउँदै गर्दाको बेलाजस्तो देखिन्छ अहिले। गगनले नेतृत्व राम्ररी लिएर अगाडि बढे भने मुलुकको अहिलेको निराशा चिर्न सफल हुने छन्।
गगन र विश्व कांग्रेसमा महामन्त्री निर्वाचित हुँदै गर्दा पनि उनीहरूले त्यो बेला आशाको सन्देश दिएका थिए। अहिले झन् बढी आशावादी बनाएका छन् दलको नयाँ नेतृत्वमा पुगेर।
अहिलेसम्म गगन जसरी यहाँसम्म आइपुगे। त्यसैगरी बाँकी चुनौती पनि पार लगाउनुपर्छ। उनको नेक कामका निम्ति साथसहयोग गर्न अनेकन् मानिस तयार छन्। नेपाल हिजोजस्तो छैन। मानिस पनि हिजो जस्ता छैनन्। बदलिएको परिवेशमा आफ्नो जिम्मेवारी पूरा मात्र गर्नु छैन, भोलि दलको सत्ता पनि जिम्मेवार युवाको हातमा बुझाएर उनले अवकाशको तयारी पनि अहिल्यैदेखि गर्नुपर्छ।
प्रकाशित: २ माघ २०८२ ०९:३२ शुक्रबार

