२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

फिर्केखोलामा डोजर : कलेजको भवनदेखि बहुतले घरहरु भत्काइयो

पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउने क्रम सोमबार दोस्रो दिन पनि जारी छ।

पहिलो दिन ८ पक्की र १२ अस्थायी गरेर कुल २० वटा संरचना भत्काएको महानगरले आज दोस्रो दिन पनि फिर्केखोलामा बनेका संरचना भत्काउने अभियान जारी राखेको हो।

फिर्केखोलाका तीन फरक ठाउँबाट अवैध संरचना भत्काउन सुरु गरिएकोमा आज दोस्रो दिन पनि सोही ठाउँको बाँकी संरचना भत्काउने कार्य भइरहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए।

आज पनि आइतबार जस्तै पोखरा १८ र २ को सिमाना क्षेत्र, पोखरा ४ र ५ को सिमाना क्षेत्र र पोखरा ७ र ८ को सिमाना क्षेत्रमा भत्काउन बाँकी रहेका संरचना भत्काउने कार्य भइरहेको उनले बताए।

‘आज दोस्रो दिन पनि सुमधुर र सौहार्दपूर्ण वातावरणमा फिर्के खोलाको खोलाघर सफा गर्ने कार्य निरन्तर भइरहेको छ’,उनले भने,‘आज हिजोको तुलनामा डोजर, प्राविधिक र सुरक्षाकर्मी थपेर काम भइरहेको छ।’

उनका अनुसार आज बिहानैदेखि फिर्केखोलाका खोलाघर मिचेर बनाइएका अवैध संरचना  भत्काउन ४ सय ३४ जना खटिएका छन्।

फिर्केका अवैध संरचना भत्काउने क्रममा आज बहुतले भवनहरू पनि भत्काइएका छन् । आज बिहान पोखरा–४ र ५ को सिमानामा पर्ने स्थानीय ज्ञानबहादुर कोइरालालगायतले फिर्केखोला खोलाघर मिचेर बनाएका बहुतले घरहरू भत्काइएको हो ।

फिर्केखोला खोलाघर मिचेर सोंपाल तमु समाजदेखि बराल समाज घरसम्म, लिटिल स्टेप र लिंकन कलेजको भवनदेखि लायन्स क्लबलगायतले स्थायी तथा अस्थायी संरचना बनाइएका छन्। यी सबै सङ्घसंस्थाले पोखरा महानगरसँग अनुमति लिएर बनाएकाले भत्काउन नपाउने जिकिर गर्दै आएका थिए। तर उनीहरूले हालेको रिटलाई जिल्ला अदालत कास्कीले खारेज गरिदिएपछि अवैध संरचना भत्काउन थालिएको हो।

यसअघि पोखरा महानगरपालिकाले एक महिना लगाएर फिर्केखोलाको नाप जाँच गरी प्रतिवेदन बनाएको थियो। सो प्रतिवेदन अनुसार फिर्केखोलामा मापदण्ड मिचेर १६० वटा संरचना निर्माण भएका छन्। जसमा ४५ वटा स्थायी र ११५ वटा अस्थायी प्रकृतिका संरचना निर्माण भएका छन्।

जसमध्ये खोलामाथि १८ वटा स्थायी र १० वटा अस्थायी संरचना निर्माण भएको प्रतिवेदनमा उल्लेख छ। त्यसबाहेक खोलाको मापदण्ड मिचेर थप ३५ वटा स्थायी र ९७ वटा अस्थायी संरचना निर्माण भएका छन्। यी सबै भत्काइने महानगरले जनाएको छ।

अतिक्रमणको चपेटामा परेको करिब ८ किलोमिटरको यो फिर्केखोलामा नापजाँचपश्चात ५८८ सीमा स्तम्भहरू गाडिएका छन्। जसअनुसार खोलाको पश्चिमतर्फ ३०३ वटा र पूर्वतर्फ २८५ वटा सीमा स्तम्भ गाडिएको महानगरको प्रतिवेदनमा उल्लेख छ। सो सीमा स्तम्भ भन्दा भित्र पट्टिका अतिक्रमित स्थायी तथा अस्थायी दुवै प्रकारका संरचना हटाइने मेयर आचार्यले जानकारी दिए।

फिर्केखोला साबिक ग्यारजाती, पछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिका वडा–नं.१८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिएको छ। फिर्केखोलाको खोलाघर नाप जाँच समितिका संयोजक वासुदेव पौडेलका अनुसार नाप जाँचका क्रममा फिर्केखोला न्यूनतम ३.३० मिटरदेखि उच्चतम ४० मिटर चौडाईंसम्म फराकिलो भएर फैलिएको पाइएको छ। खोलाको उचाइ ४ देखि ९ मिटरसम्मको गहिराई रहेको उनले बताए।

प्रकाशित: ११ जेष्ठ २०८३ १६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App