२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

एन्फा राष्ट्रिय लिग: लालीगुराँस एसोसिएसन सुखद सुरुआत

लालीगुराँस एसोसिएसन क्लबले एन्फा राष्ट्रिय लिगमा शीर्ष डिभिजन क्लब जावलाखेल युथलाई हराउँदै सुखद सुरुआत गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको दोस्रो खेलमा लालीगुराँसले जावलाखेल युथ क्लबमाथि १–० को साँघुरो जित निकाल्यो। लालीगुराँसका राज भुसालले गरेको एक गोल नै जितका लागि पर्याप्त बन्यो। कास्कीको क्लब लालीगुराँस एन्फा प्रेसिडेन्ट लिगबाट शीर्ष चार स्थानमा रहँदै राष्ट्रिय लिगमा आएको हो।

लालीगुराँसले उब्जेकिस्तानका स्कन्दर सिदिकजोनोभ र अब्दुल युसुफलाई मैदान उतारेको थियो। जावलाखेलले पनि तीन जना विदेशी खेलाडी समावेश गरे पनि हार टार्न सकेन। खेलको सुरुआतमा नै लालीगुराँसले अग्रता लिएको हो। दोस्रो मिनेटमा नै राजको गोलबाट लालीगुराँसले अग्रता लियो। ३२औं मिनेटमा जावलाखेलले अवसर सिर्जना गर्‍यो।

सुजन गुरुङले फ्रिकिकमा धर्वेन्द्र कुँवरले हेडर बल पोस्टको बायाँबाट बाहिरियो। पाँच मिनेटपछि नै लालीगुराँसका स्कन्दरले पहेँलो कार्ड पाए। त्यसपछि प्राप्त फ्रिकिकमा जावलाखेलका दीपेन्द्र विकले सदुपयोग गर्न सकेनन्। ४२औं मिनेटमा जावलाखेलका अनिल रानामगरले गरेको प्रहार पनि सफल भएन। पहिलो हाफको थप समयमा जावलाखेलका युवराज ढकालले फाउल गरे।

पहिलो हाफसम्म जावलाखेलको खेलमा फर्कने प्रयास सफल हुन सकेन। दोस्रो हाफमा पनि दुवै तर्फबाट गोल निस्किएन। ५६औं मिनेटमा लालीगुराँसले अवसर बुन्यो। सचिन गुरुङले गरेको प्रहार पोस्टको दायाँ भागबाट बाहिरिन पुग्यो। ७८औं मिनेटमा जावलाखेलले खेलमा फर्कने अवसर पायो।

तर, निकोलस ओड्ने ह्यामिल्टनको शक्तिशाली प्रहार लालीगुराँसका गोलकिपर अनिश महतोले उत्कृष्ट बचाउ गरे। इन्जुरी समयमा जावलाखेलका धर्वेन्द्रको फ्रिकिक प्रहार  गोलकिपर अनिशले दोस्रो पटक उत्कृष्ट बचाउ गर्दै लालीगुराँसलाई जित दिलाए।

मोफसलको टोली लालीगुराँसले शीर्ष डिभिजन क्लब जावलाखेललाई स्तब्ध बनायो। जावलाखेलको जितमा लक्षु थापा प्लेअर अफ दी म्याच भए। त्यसअघि बिहीबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा पहिलो खेलमा सातदोबाटो युथ क्लब र संकटा क्लबले गोलरहित बराबरी खेले। दुवै टोलीले समान एक जना विदेशी खेलाडी खेलाएका थिए। दुवै टोलीले पाएका अवसर सदुपयोग गर्न सकेनन् र अंक बाँड्न बाध्य भए।

खेलको पहिलो हाफमा सातदोबाटोले केही राम्रा अवसर सिर्जना गरे तर गोलमा परिणत गर्न सकेनन्। खेलको १६औं मिनेटमा सातदोबाटोका समीर तामाङको प्रहार पोस्टको दिशामा रहेन। २३औं मिनेटमा विश्वास श्रेष्ठको पासमा यक्षहाङ लिम्बूको प्रहार संकटाका गोलकिपर टिकेन्द्रसिंह थापाले उत्कृष्ट बचाउ गरे। ४४औं मिनेटमा समीरको पासमा विश्वासले मौका पाए पनि गोल गर्न सकेनन्।

दोस्रो हाफमा पनि दुवै टोलीले अवसर बनाए। ५४औं मिनेटमा सातदोबाटोका पासाङ लामाले दिएको पासलाई यक्षले हेडरमार्फत प्रहार गरे तर बलले सही दिशा लिन सकेन। ७९औं मिनेटमा संकटाले अवसर बुन्यो।

विदेशी खेलाडी वेन्डपंगा गिल्बर्ट बिल्गोले पेनाल्टी बक्सभित्रबाट प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरिँदा संकटा जित निकाल्न असफल भयो। संकटाका कप्तान तथा गोलकिपर टिकेन्द्रसिंह थापा प्लेअर अफ दी म्याच भए। यसअघि राष्ट्रिय लिगको पहिलो दिन फ्रेन्ड्स क्लबले काँक्रे विहारालाई हराउँदा श्री भगवती क्लबले चर्च ब्वाइज युनाइटेडसँग बराबरी खेलेको थियो।

मंगलबार लिगमा एक मात्र खेल हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र मच्छिन्द्र क्लब आमनेसामने हुनेछन्। सांगीतिक कार्यक्रमसहित लिगको उद्घाटन समारोह हुनेछ। उक्त खेल साँझ सात बजे हुनेछ।  

 

प्रकाशित: २ माघ २०८२ ०९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App