१२ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

टरेको हो माओवादी-नेकपा एकता ?

क्याप्शन

नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच हुने भनिएको एकता अलपत्र परेको छ ।

एकतामा ढिलाइ हुँदा नेकपा बिच्किएको छ । भर्खरै सम्पन्न नेकपाको केन्द्रीय समिति बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल एकता विरोधी भएको मात्रै निष्कर्ष निकालेन, अब आफ्नै बुतामा अगाडि बढ्ने निर्णयसमेत गरेको छ । त्यसका लागि ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने र निर्वाचन आयोगमा दर्ता हुने निर्णयसमेत गरेको छ ।

यता माओवादी नेताहरूले भने वार्ता जारी रहेको र चाँडै एकता हुने बताएका छन् । माओवादी उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटा भन्छन्, 'अहिले हामी आफ्नै सङ्गठन सुदृढीकरणमा व्यस्त भयौँ । अब सीसी (केन्द्रीय समिति) बस्छ, त्यस बैठकले एकताबारे ठोस रूपमा निर्णय गर्छ ।'

नेकपा भने अब एकताका लागि माओवादीको 'रेस्पोन्स' कुर्ने पक्षमा छ । नेकपा पोलिटब्यूरो सदस्य सन्देश पौडेल भन्छन्, 'पार्टीको दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । माओवादीसँगको एकताका बारेमा उसको रेस्पोन्स कुर्ने निष्कर्ष निस्केको छ । अरु वामपन्थी दलहरूसँगको एकतामा जोड गर्छौँ ।'

साङ्गठनिक कुरा मिलेन !

सैद्धान्तिक रूपमा माओवादी-नेकपाबीच एकतामा कुनै समस्या नभए पनि साङ्गठनिक कुरा नमिलेको नेताहरूले स्वीकारेकाका छन् । 

वार्ता समितिका सदस्यसमेत रहेका माओवादी महासचिव देव गुरुङ भन्छन्, 'सैद्धान्तिक रूपमा कुनै समस्या छैन तर, साङ्गठनिक रूपमा अलिक छलफल गर्नैपर्ने भएको छ ।' तर, चाँडै एकताका लागि प्रक्रिया अगाडि बढ्ने महासचिव गुरङ बताउँछन् ।

नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढामगर पनि साङ्गठनिक रूपमा कुरा नमिलेको बताउँछन् । 'सैद्धान्तिक रूपमा त केही छैन, मिल्ने भन्ने नै भइसक्यो । तर, साङ्गठनिक रूपमा केही कुरा मिल्न बाँकी छ । नाम, एकतापछिको साङ्गठनिक संरचनालगायतका विषयमा कुरा मिलेको छैन,' उनले भने ।

त्यसो त यसअघि केही चरण एकताका लागि छलफल भइसकेको हो । माओवादीले गठन गरेको वार्ता समितिका संयोजकसमेत रहेका पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले नेकपा महासचिव नेत्रविक्रम चन्दलाई पार्टी मुख्यालय कपिलवस्तु नै पुगेर भेटेका थिए । त्यसपछि अन्य नेताहरूको तहमा पनि वार्ता भएको थियो तर, त्यसले निरन्तरता पाउन सकेन ।

त्यसबेला नेत्रविक्रम चन्दलाई माओवादी महासचिव बनाउने कुरासमेत चलेको थियो । तर, नेकपाले भने यसलाई स्वीकारिसको थिए ।

माओवादी अध्यक्ष दाहाल र नेकपा महासचिव चन्द ।

त्यसो त नेकपाको माग महासचिव प्रणाली छ, जबकि माओवादी भने बहुपदीय छ । नेकपाले एकीकृत पार्टीको साङ्गठनिक संरचना पनि महासचिव प्रणालीमै जानुपर्ने माग गरेको छ । यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भने अहिलेका पदाधिकारीहरूलाई व्यवस्थापन गर्न गाह्रो परेको छ ।

उसो त साङ्गठनिक कुरा मिले एकता नकार्ने पक्षमा पनि छैन नेकपा । तर, आफूले धेरै पहल नगर्ने नेताहरूले बताएका छन् । तर, साङ्गठनिक रूपमा उचित निर्णय लिइनुपर्ने माग उनीहरूको छ ।

०८४ को निर्वाचन उपयोग गर्दै नेकपा

नेकपाले ०८४ को निर्वाचनको भने उपयोग गर्ने तयारी गरेको छ । एक दशकभन्दा बढी समययतादेखिको निर्वाचनलाई बहिष्कार गर्दै आएको नेकपा अब भने त्यसको उपयोगमा जुटेको हो ।

पार्टीले त्यसैगरी तयारी थालेको भनाइ प्रवक्ता खड्गबहादुर विश्वकर्मा बताउँछन् । 'अब ०८४ मा देखाउने भन्ने छ हामीलाई । त्यसको तयारी थाल्नेछौँ,' प्रवक्ता विश्वकर्माले भने ।

त्यसकै लागि पार्टी दर्तालगायतका काम गर्ने निर्णय केन्द्रीय समितिले गरेको उनले बताए ।

त्यसो त माओवादी वा अरु दलहरूसँग एकता भए पनि नभए पनि पार्टीले निर्वाचनको उपयोग गर्ने नीति अवलम्बन गरेको नेकपा नेताहरूले बताएका छन् ।

प्रकाशित: ४ पुस २०८१ १६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App